मन्त्री थापाद्वारा स्याङजा अस्पतालको निरीक्षण

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्याङजा जिल्ला अस्पतालको निरीक्षण गरेका छन् । आइतबार अस्पतालले आयोजना गरेको बालरोग सम्बन्धि सघन उपचार सेवा पीआइसियु र एनआइसियु को सेवा शुभारम्भ गर्दै उनले निरीक्षण गरेका हुन् ।मन्त्री थापाले हिजो भन्दा आज अस्पतालको सेवामा विस्तार भएको जानकारी पाउँदा खुशी लागेको बताए । ‘हिजो भन्दा आज स्याङजा अस्पतालले प्रवाह गर्दै आइरहेको सेवामा विस्तार भएको रहेछ, खुशी लाग्यो । नागरिकको स्वास्थ्य उपचारमा अस्पतालको काम प्रशंसनिय छ । यसलाई अझै प्रभावकारी र विश्वसिनय बनाउँदै लैजानुहोला ।’, उनले भने ।

अस्पतालमा शुभारम्भ गरिएको पीआइसियु र एनआइसियु जस्तो सेवाले बालबालिकाको उपचारमा सहयोग मिल्ने विश्वास उनको छ । मन्त्री थापाले स्याङजा अस्पतालको विभिन्न विषयलाई प्रभावकारी रुपमा संचालन गर्न ३ करोड ८ लाख २६ हजार रुपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको जानकारी गराए । सिमित स्रोतसाधनका बीच पनि प्रदेश सरकारले स्याङजा अस्पतालको स्तरोन्नतिमा कुनै कसर बाँकी नराखेको भनाई उनको छ ।

मन्त्री थापाले अस्पतालमा देखिएको जनशक्ति अभावको विषयलाई प्राथमिकतामा राखेर काम गर्न स्वास्थ्य सचिवलाई निर्देशन समेत दिएका छन् । ‘स्याङजा अस्पतालमा देखिएको समस्यालाई समाधान गर्न सचिवज्यूलाई मेरो आग्रह छ । आवश्यक जनशक्तिको उपलब्धतामा जोड गर्नुहोला । नागरिकको स्वास्थ्य उपचारमा कुनै समस्या सिर्जना नहोस् ।’, उनले भने ।

पूर्वमन्त्री सिता सुन्दासले स्वास्थ्यको क्षेत्रमा सबै संवेदनशील हुन आवश्यक रहेको उल्लेख गरिन् । स्याङजा जिल्लामा देखिएको स्वास्थ्य समस्यालाई सुधार गर्न सबै एक हुनुपर्ने भनाई उनको छ । गण्डकी प्रदेशका सांसद सुधिर कुमार पौडेलले स्याङजा अस्पताल पुग्ने सडक संजालको विकासमा समेत ध्यान दिनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनले अस्पतालमा काम गर्ने कर्मचारी देखि चिकित्सक सम्मका परिवारले सरकारी अस्पतालबाट नै उपचार गर्नुपर्ने र अस्पताल प्रतिको विश्वास बढाउनुपर्ने बताए ।

सांसद महेश भट्टराईले स्याङजा जिल्लाको स्वास्थ्य र शिक्षामा सुधार ल्याउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । स्वास्थ्य मन्त्रालयको सचिव विनोदविन्दु शर्माले गण्डकी प्रदेशको दश वर्ष अगाडिको स्वास्थ्य अवस्था र अहिलेको स्वास्थ्य अवस्थामा आमुल परिवर्तन आएको उल्लेख गरे । स्याङजा जिल्ला अस्पतालमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्न आफु र मन्त्रालय लागिपर्ने उनले बताए ।

अस्पतालका मेसु सुशिल कुमार मरासिनीले २०५७ सालमा स्थापना भएको स्याङजा अस्पतालबाट ५६ शैयाको सेवा प्रवाह गरिरहेको जानकारी गराए । अस्पतालको ८४ जना कर्मचारी कार्यरत रहेकोमा १३ जना मात्रै स्थायी दरबन्दी कर्मचारी रहेको उल्लेख गरे । अस्पतालको भौतिक संरचना जीर्ण रहेको र यसको सुधारमा चाँसो दिन प्रदेश सरकारलाई उनको आग्रह छ । कार्यक्रममा स्याङजा जिल्लाकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाली, बालरोग विशेषज्ञ डा. विनोद गैरे लगायतले बोलेका थिए ।

  • ६ श्रावण २०८१, आईतवार १७:४३ प्रकाशित