बागमती र लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा

केन्द्रभाग मिडिया

हेटौंडा ।

बागमती र लुम्बिी प्रदेशका मुख्यमन्त्रीहरुले आज राजीनामा दिएका छन् । शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।

आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका हुन् ।

यसअघि जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा सुझाव दिएको थियो ।

प्रदेश सभाबाट आफूले गरेका कामको रेकर्ड गराउन बैठक राख्न आग्रह गरेको र विश्वासको मत लिने प्रस्ताव दर्ता गरेको बताउँदै नयाँ सरकार बनाउन दुई दलको स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गर्न चाहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । माओवादी केन्द्रले प्रदेश सभामा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

२४ असारमा सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व गरेका जम्कट्टेल १८ महिनामा सरकारबाट बाहिरिएका छन् ।

लुम्बिनीमा एमालेले दावी पेश गर्ने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।

कामचलाउ भएर एकछिन पनि बस्न नसक्ने बताउँदै उनले कांग्रेस–एमालेलाई नयाँ सरकार छिटो बनाउन आह्वान गरे ।

महराको राजीनामा पछि कांग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् । दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । यसअघि कांग्रेस र एमालेबीच मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेको थिएन ।

महराले राजीनामा दिएपछि प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनका लागि आह्वान गरेमा गिरीले आज नै मुख्यमन्त्रीमा दावी पेश गर्ने एमाले प्रमुख सचेतक चौधरीले बताए ।

  • ६ श्रावण २०८१, आईतवार १५:४२ प्रकाशित