प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका दलले उनलाई विश्वासको मत नदिने भएका छन् ।

एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने भएकोले सांसदहरूलाई ह्विप जारी गरिएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

 

  • ६ श्रावण २०८१, आईतवार ०७:१६ प्रकाशित