सवारी जाँचको नाममा व्यवसायीलाई दुःख दिइयो : कोइराला

केन्द्रभाग मिडिया

पोखरा ।

एलपी ग्यास बिक्रेता संघ कास्कीको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा निर्वाचन समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले नवनिर्वाचित समितिको पदस्थापन गराएका हुन् ।

एलपी ग्यास बिक्रेता संघको १६ औ वार्षिक साधारण सभा तथा छैर्टौं अधिवेशनले अध्यक्षमा नारायणदत्त दाहालसहित पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित गरेको हो । समितिको निवर्तमान अध्यक्षमा बालकृष्ण कोइराला, उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा हरिकृण अधिकारी, कोषाध्यक्षमा किरणकृष्ण तिवारी, सहसचिवमा गंगाधर बराल र सदस्यहरुमा विक्रम नेपाली, सुृरज गुरुङ, खिमराज आचार्य, सन्तबहादुर लामिछाने, दीनेश कार्की र पूर्णबहादुर थापा रहेका छन् ।
पदस्थापना कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले व्यवसायीहरुले आफू पनि उपभोक्ता भएको बिर्सन नहुने बताए । उनले ग्यास अत्यावश्यक बस्तु भएकाले त्यसको बिक्री वितरणलाई सुरक्षित र सरल बनाउनुपर्नेमा पनि जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दायर गरेका मुद्दाहरु हेर्दा थोरैमात्र व्यवसायी र धेरै कर्मचारी तथा जनप्रतिनिधि परेको तथ्य पेश गर्दै जनप्रतिनिधिहरुमाथि दवाब सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले ट्राफिक प्रहरीको गलत रवैयाका कारण व्यवसायीहरु मर्कामा परेको जिकिर पनि गरे ।

प्रहरीले थुनुवाहरुलाई ट्रकमा कोचेर अदालत लैजाने, प्रहरी प्रमुख तथा विशिष्ठ व्यक्तिको सुरक्षामा खटिने प्रहरी भ्यानको पछाडि मान्छे बस्न हुने तर व्यवसायीहरुले सामान रुझ्ने भएकाले छत राख्दा पनि जरिवाना गर्नु गलत भएको उनको भनाइ थियो । उनले घुम्ती र कुनोमा बसेर ट्राफिकले सवारी जाँच गर्ने, कुनै गाडीको लाइट बलेको छैन भने १ हजार जरिवाना तिराउने तर त्यो लाइट बनाउन चाहिँ नभन्ने गरेको जिकिर पनि गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी सदस्य रामकाली खड्का, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यमनाथ पौडेल, पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष धुवबाबु भट्टराई, एलपी ग्यास बिक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद पौडेल, एलपी ग्यास बिक्रेता संघका निवर्तमान अध्यक्ष बालकृष्ण कोइराला, नवनिर्वाचित अध्यक्ष नारायणदत्त दाहालसहित कार्यसमिति सदस्य सन्तबहादुर लामिछानेले पनि मन्तव्य राखेका थिए ।

  • ५ श्रावण २०८१, शनिबार २१:३२ प्रकाशित