कालीगण्डकीमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

केन्द्रभाग मिडिया

पोखरा ।

आफ्नो पालिकाकाका बासिन्दालाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराएको स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई निःशल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र अस्पतालमा सुरक्षितरूपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले गत १ वैशाख देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । गत चैतमा कार्यबिधि बनाएर बैशाखबाट नै यो सेवा दिइएको भएपनि कतिपयले जानकारी नपाउँदा र गर्भवती भएपछि सुविधासम्पन्न ठाउँमा जाने चलन भएकाले सेवा भने कमैले लिएको उनले बताए ।

गर्भवती भएपछि यातायातको साधनको अभाव र समयमा अस्पताल नपुगिने चिन्ताले जनता सहरमै बस्न थालेकाले गाउँमै बसुन र समयमै अस्पतालको पहुँचसम्म पुर्याउन सकियोस् भनेर यो सेवा सुरु गरिएको उनको भनाई छ । ‘गर्भवती भएपछि सुविधा भएको ठाउँमा जानुपर्छ भन्ने भयो । कतै गाउँमै बस्यो भने समयमा अस्पताल पुगिन्न भन्नेपनि भएको हुनसक्छ । अनि कसैले पैसाकै अभावमा वा एम्बुलेन्स नपाएकै कारणले घरमै असुरक्षित तवरले बच्चा जन्माउन नपरोस् भनेर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेका छौँ । यसले गर्भवती महिला तथा सुत्केरी भइसकेपछि आमा र शिशुको स्वास्थ्यकाबारेमा रेखदेख र आवश्यक परामर्श दिन पनि सहज भएको छ,’ उनले भने।

कालिगण्डकी गाउँपालिकासंग चारवटा एम्बुलेन्स छन् । पालिकाले दिएको यो सुबिधाको प्रचारप्रसार र सेवाका बारेमा टोलटोलमा जानकारी दिएर अझै प्रभावकारी ढङ्गले अगाडि बढाउने योजनामा आँफूहरु रहेको अध्यक्ष थापाले सुनाए ।

 

  • ४ श्रावण २०८१, शुक्रबार १९:१५ प्रकाशित