पोखरा ।
खोला र तालमा डुबेर पोखरामा एकैदिन तीन जनाको ज्यान गुमेको छ । कास्की प्रहरीका अनुसार पोखरा २३ हर्पन खोलामा डुबेर २ जना र पोखरा २६ स्थित गुँदे तालमा डुबेर १ जनाको ज्यान गुमेको हो ।
शुक्रबार दिउँसो ३ः१५ बजेको समयमा गुँदेतालमा माछा मार्न पुगेका लमजुङ मध्यनेपाल करापुटार घरभई हाल पोखरा २६ प्रगतिटोल बस्ने विकाश परियारका ६ वर्षीय छोरा सचिन परियारको तालमा डुबेर ज्यान गुमेको हो ।
तालमा डुबेको अवस्थामा देखेर बुवा र स्थानीयले देखी तत्काल उद्धार गरी उपचारको लागि लेखनाथ सिटी अस्पतालमा ल्याएकोमा साँझ ४ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
यसैगरी शुक्रबार नै घाँटीछिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा पोखरा १ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय स्वयं ताम्राकारको ज्यान गुमेको कास्की प्रहरी प्रवक्ता वसन्त कुमार शर्माले जानकारी दिए ।
बैदामबाट प्रहरी टोली र सशस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर कालिकाबाट उद्दार टोली खटिई खट्टिएर ४ : ४५ बजे दुबै शवलाई खोलाबाट बाहिर निकाली प्रारम्भिक अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक शर्माले बताए । खोलामा ६ जना पौडी खेल्न गएकोमा ४ जना सकुशल रहेको उनले जानकारी दिए ।













