प्रधानमन्त्रीको सम्बोधनपछि बंगलादेशमा झन् चर्कियो प्रदर्शन, कम्तीमा २५ जनाले ज्यान गुमाए

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेख हसिनाको सम्बोधन पछि बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन झन् चर्किएको छ । विश्वविद्यालयका विद्यार्थीहरूले गरेको प्रदर्शन देशव्यापी भएको छ ।

बीबीसी बंगाली सेवाका अनुसार अहिलेसम्म बंगलादेशका विभिन्न भागमा गरी कम्तीमा २५ जनाको मृत्यु भएको छ । साथै झडपमा सयौँ घाइते भएका छन् ।

प्रधानमन्त्रीको सम्बोधनपछि पनि प्रदर्शन रोकिएको छैन । बुधबार प्रधानमन्त्री हसिनाले राष्ट्रका नाममा सम्बोधन गरेकी थिइन् । उनले आन्दोलनमा उत्रिएका विद्यार्थीलाई धैर्य रहन आग्रह गरेकी थिइन् । उनले अदालती प्रक्रियाबाट सबैले न्याय पाउने बताएकी थिइन् । तर उनको सम्बोधनपछि प्रदर्शन झन् देशव्यापी बनेको हो । देशका विभिन्न स्थानमा इन्टरनेट सेवा बन्द गरिएको छ ।

बिहीबार साँझदेखि बंगलादेशका अधिकांश अनलाइन मिडियाहरूमा समाचारसमेत पोस्ट भएका छैनन् । साथै टेलिभिजन च्यानलहरू पनि सामाजिक सञ्जाल र युट्युबमा प्रत्यक्ष प्रसारणमा छैनन् । अधिकांश बंगलादेशी टेलिभिजन च्यानलहरूले युट्युबमा प्रत्यक्ष प्रसारण गर्छन् ।

  • ४ श्रावण २०८१, शुक्रबार १५:१६ प्रकाशित