करिब ४ करोडको लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

करिब ४ करोड मुल्य बराबरको लागूऔषधसहित प्रहरीले दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं २६ ठमेल स्थित एक होटलबाट लागु औषध नियन्त्रण ब्युरोले १ केजी १०० ग्राम लागूऔषध कोकिनसहित कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई पक्राउ गरेको हो ।

बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी ३ करोड ८५ लाख हुन आउने प्रहरीले जानकारी दिएको छ ।पक्राउ पर्नेमा २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन अनसारी र ४४ वर्षीय नाइजेरियन नागरिक इकेचुक्वा सिरिल ओबडोफुला रहेका छन् । नसिममुद्दिन साउन १ गते इन्डियो एयरलाइन्सको विमानबाट मुम्बई हुँदै नेपाल आएका थिए ।

उनीहरुलाई एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागु औषध कोकिनका ६२ वटा क्याप्सुल लुकाएर बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

नसिमुद्दिनले उक्त लागु औषध कोकिनसहितका जुसका बट्टाहरू काठमाडौँ-९ पिङ्गलास्थान स्थित एक होटलमा बसिरहेका नाइजेरियन नागरिक ओबडोफुलाबाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । ओबडोफुला साउन १ गते नै कतार एयरलाइन्सबाट नेपाल आएका थिए ।

उनलाई पनि नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागु औषध कोकिनका क्याप्सुलहरू कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर नेपाल ल्याएको बयान दिएका छन् । होटल पुगेपछि उनले कोकिनका क्याप्सुलहरू जुसको बट्टाहरूभित्र लुकाएको खुल्न आएको हो ।

दुवै जनामाथि लागु औषध ९नियन्त्रण० ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ।

  • ३ श्रावण २०८१, बिहीबार १३:५८ प्रकाशित