सिमलताल पहिरो : गणपति डिलक्सका चालक र सहचालकको शव गण्डक ब्यारेज नजिकै भेटियो

केन्द्रभाग मिडिया

बेपत्ता यात्रुको खोजीमा तीव्रता नवलपुर (नवलपरासी), १ साउन ः चितवनको भरतपुर–२९ सिमलतालमा असार २८ गते शुक्रबार बिहान आएको पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुको शव नवलपुरमा भेटिन सुरु भएपछि नवलपुरतर्फ खोजीमा जुट्दै सुरक्षाकर्मी । जिल्लाको नारायणी नदी किनार, टापु तथा सम्भावित क्षेत्रमा खोजीकार्य तीव्र पारिएको छ । तस्बिरः टेकराज पोखरेल÷रासस

चितवन ।

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन् ।

उनीहरु दुवैको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो । जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको मात्र सनाखत भएको छ । ८ शवको सनाखत हुन बाँकी छ ।भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन् । सनाखत भएकामा ६ जना नेपाली र ३ जना भारतीय छन् ।

१७ मध्ये १४ वटा शव पूर्वी नवलपरासीको नारायणी नदीको तटीय क्षेत्रमा भेटिएका हुन् । असार ३१ गते भेटिएका ५ र साउन १ गते भेटिएका ३ शवको सनाखत हुन बाँकी छ । अझै ४५ यात्रुको अवस्था अज्ञात छ ।

  • २ श्रावण २०८१, बुधबार १०:०३ प्रकाशित