नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएका दुई वटा बसका १३ जनाको शव फेला परेका छन्।
खोज तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घटनापछि नारायणी नदी किनारमा ती शव फेला पारेपनि हालसम्म ८ जनाको मात्रै सनाखत भएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार ४ पुरुष र एक महिलाको सनाखत हुन बाँकी छ। ती शव पनि नेपाल प्रहरीले आफन्तसँग सम्पर्क गरेर सनाखत गर्ने प्रयास गरिरहेको छ।
शुक्रबार बिहान वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सलाई यात्रुसहित पहिरोले त्रिशूली नदीमा बगाएको थियो।
एन्जल डिलक्समा टिकट काटेका २७ जना भएपनि सम्पर्कमा आएका आफन्तका अनुसार थप ११ जना पनि रहेको खुलेको छ। उक्त बसमा ३८ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ।
यस्तै, गौरतर्फ जाँदै गरेको गणपती डिलक्समा टिकट चलानमा २४ जना देखिएको र थप तीन जनाका आफन्त पनि सम्पर्कमा आएको गरी २७ जना रहेको खुलेको छ।
दुईवटा बसमा ६५ जना सवार रहेकोमा गौरतर्फ जाँदै गरेको गणपती बसका ३ जना बच्न सफल भएका छन्।रौतहटका नन्दन दास, जुगेश्वर राय र सरोजकुमार गुप्ता दुर्घटनामा परे पनि बच्न सफल भएका हुन्। बाँकी ६२ जनाको सोहीदिनबाट खोजिकार्य भइरहेको छ।
सोमबार पनि तीनवटै सुरक्षाकर्मीले खोजी गरिरहेका छन्।













