पोखरा ।
पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ ।
१५ औँ नगरसभाले महानगरपालिकाको बजेट तथा कार्यक्रम सर्वसम्मत पास गरेको हो । उपप्रमुख मन्जुदेवी गुरुङले १० असारको नगरसभामा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट पेस गरेकी थिइन् ।
बजेटको स्रोतमा सङ्घीय सरकारबाट अनुदान स्वरूप ४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार रहनेछ।
यस्तै सङ्घीय राजस्व बाँडफाँडबाट ३८ करोड ३३ लाख ७५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट ९ करोड ७२ लाख २० हजार, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र राजश्व बाँडफाँडबाट ५४ लाख २४ हजार रुपैयाँ रहनेछ । यस्तै नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिइने महानगरले जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा महानगरले पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित, दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य श्रृखला सबलीकरण, बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन उत्सर्जन तथा कार्बन तटस्थतालाई प्राथमिकतामा राखेको छ ।
यस्तै सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरण प्रति संवेदनशील र जिम्मेवार समाज निर्माण, नवउद्यम (स्टार्टअप)प्रवर्द्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वास्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरणमा जोड दिएको छ ।
नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयक लगायत सभामा पेस भएका प्रस्तावहरू समेत सर्वसम्मतिले पास गरेको छ ।













