काठमाडौं ।
यस वर्ष असार अन्तिमसम्ममा नेपालमा डेंगु संक्रमितको संख्या एक हजार पाँच सय ४४ जना पुगेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार असार महिनाको अन्तिमसम्म आइपुग्दा एक हजार पाँच सय ४४ जनामा डेंगु संक्रमित पुष्टि भएको हो ।
यो वर्ष डेंगुको संक्रमण सबैभन्दा धेरै काठमाडौंमा देखिएको छ । काठमाडौं जिल्लामा १ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा १ सय २३, चितवनमा ९०, मकवानपुरमा ७०, ओखलढुंगामा ५३, तनहुँमा ५३ र डोटीमा ५० जना संक्रमित भइसकेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार यसवर्ष पनि डेंगुको जोखिम कात्तिक अन्तिमसम्म रहने छ । एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ, असोज र कात्तिकसम्म रहने देखिन्छ ।
‘गत वर्ष मनसुन चाडै सक्रिय भएकाले डेंगु चाँडै फैलिन सुरु गरेको थियो । यसवर्ष भर्खरै मनसुन सक्रिय भएको छ । अबका दिनमा डेंगुका बिरामी बढ्छन’, डा. दाहालले भने ‘अघिल्ला वर्षका तथ्यांकलाई हेर्दा कात्तिकसम्म जोखिम रहने देखिन्छ ।’
एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामका लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । सन् २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो ।
सन् २०२० मा धरानमा फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । त्यसयता क्रमशः डेंगु संक्रमितको संख्या मात्रै बढेन संक्रमण अन्य जिल्लामा समेत फैलियो ।
सन् २०२२ मा आइपुग्दा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो । २०२३ मा भने कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए ।
‘पछिल्ला दिनमा चिसो मौसममा समेत डेंगुका बिरामी देखिएका छन् । अब डेंगु सदाबहादर देखिने आकलन गर्न सकिन्छ’, डा. दाहालले भने ।विज्ञका अनुसार डेंगु सार्ने लामखुट्टेको वृद्धि, विकास हुने ठाउँ फालिएका टायर, फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।
ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ । साथै समुदायस्तरमै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्नुपर्छ ।