भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिने ओलीको तयारी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई भोलि नै पूर्णता दिने तयारी भइरहेको छ ।

राष्ट्रपतिको कार्यालयले आइतबार साँझ ५ बजेपछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएकाले सोमबार बिहान ११ बजे शपथ समारोह राख्ने तयारी चलिरहेको छ ।
ओलीले आफूले शपथ लिँदा मन्त्रिपरिषदलाई पूर्णता दिन चाहेका छन् । ‘सकेसम्म भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिइनेगरी छलफल भइरहेको स्रोत बताएको छ ।

ओलीले एकैपटक सबै मन्त्री नियुक्त गर्न चाहेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसैअनुसार छलफल गरिरहेका छन् ।

उनका अनुसार, आइतबार रातिसम्म सम्भव नभए पनि भोलि बिहानसम्म मन्त्रीहरु टुंगो लगाउने गरी देउवा लागिपरेका छन् । साना दलहरु पनि आइतबार नै मन्त्री टुंगो लगाउन छलफलमा छन् ।

पार्टीभित्र आकांक्षी सांसदहरुको संख्या धेरै रहेकाले पनि भोलि एकैपटक मन्त्रिपरिषद पूर्णता दिन लागिएको एमालेका एक नेता बताउँछन् ।
सरकारमा सहभागी हुने साना दलहरुलाई दिएर बाँकी रहेको मन्त्रालय आधा–आधा गर्नेगरी देउवा र ओलीबीच छलफल भइरहेको छ ।

  • ३० असार २०८१, आईतवार १६:०२ प्रकाशित