आर्वामा २० प्रजातिका पाँच सयभन्दा धेरै विरुवा रोपियो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगर पालिका वडा नं १३, आर्वामा बृहत् बृक्षारोपण कार्यक्रम गरिएको छ । स्थानीय सुनडाँडा टोल विकाश संस्थाले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा २० प्रजातिका झण्डै पाँच सय बिरुवा रोपिएको कार्यक्रम संयोजक एवं सुनडाँडा टोल विकाश संस्थाका सचिव रामेश्वर बरालले जानकारी दिए ।

सो अवसरमा गुलमोहर, चाँप, अमला, मशला, निम, लप्सी, कपुर, सितलचिनी, रिठो, कल्की पैयुँ, लाकुरी, लगायतका बिरुवा रोपियो । ‘पर्यावरण जोगाऔं, मानव सभ्यता बचाऔं’ भन्ने मुल उद्देश्यका साथ गरिएको यो कार्यक्रम बहुवर्षीय कार्यक्रमका रुपमा आयोजना गरिएको हो । कार्यक्रममा वडान १३ का करीब १० वटा टोल विकाश संस्था, आमा समूह, युवा क्लव लगायतका संघ संस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

वडा अध्यक्ष किरण बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्यहरू बलबहादुर बराल, सुचित तामाङ्ग, रजनी परियार लगायतको उपस्थिती थियो । सुनडाँडा टोलको प्रवेश द्वार बाट शुरू गरिएको बृक्षारोपण, मुल सडक दायाँ बाँया, शाखा सडक लगायत झण्डै एक किलोमिटर क्षेत्रफलमा गरिएको छ । बृक्षारोपण कार्यक्रमको अध्यक्षता सुनडाँडा टोल विकाश संस्थाका अध्यक्ष शम्भुबहादुर बरालले गरेका थिए भने सञ्चालन सचिव रामेश्वर बरालले गरेका थिए ।

  • २९ असार २०८१, शनिबार २०:२१ प्रकाशित