काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न उनले आइतबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
संविधानको धारा ७६(२) अनुसार प्रतिनिधि सभाको बहुमत पुग्न सक्ने आधारसहित प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिबाट आह्वान भएको शीतलनिवासबाट जारी सूचनामा उल्लेख छ ।
धारा ७६(२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ ।
हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि १८ महिनाअघि धारा ७६ (२) अनुसार नै नियुक्त भएका हुन्। उनलाई त्यतिखेर नेकपा एमाले लगायत दलले समर्थन गरेका थिए ।
कतिपयले धारा ७६(२) को प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके स्वतः उपधारा ३ मा जानुपर्ने तर्क गरेका थिए । यसमा राष्ट्रपतिले के निर्णय गर्छन् भन्ने आम चासोको विषय बनेको थियो ।
राष्ट्रपति पौडेलले शुक्रबार साँझ केही कानुनविदलाई बोलाएर पनि परामर्श गरेका थिए । अधिकांश कानुनविदले ७६ ९२० अनुसार संयुक्त सरकारका लागि आह्वान गर्नुपर्ने राय दिएका थिए ।
राष्ट्रपतिले संयुक्त सरकारका लागि आह्वान गरेपछि संसदका सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । यी दुवै दलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् ।