पोखरा ।
अविरल वर्षाको कारण आएको पहिरोमा परि हिजो र आज कास्की जिल्लाको विभिन्न ठाउँमा ११ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
हिजो (बिहीबार असार २७ गते ) राती १० बजेर २० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर १९ तल्लाकोट टारीमा ७ जनाको, पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर स्थित बाह्रबिसेमामा ३ जनाको र मादी गाउँपालिका वडा नंम्बर ११ तल्लो ताप्लेमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायब निरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नं.१९ तल्लाकोट टारी बस्ने कुल बहादुर परियारको टिनले छाएको ढुङ्गा माटोले बनेको १ तले घरमा अबिरल बर्षातको कारण घर पछाडीबाट पहिरो आई पुरिदाँ ७ जनाको ज्यान गएको प्रहरीले बताएको छ ।
ज्यान गुमाउनेमा पोखरा महानगरापालिका वडा नम्बर १९ तल्लाकोट टारी बस्ने वर्ष ४६ का कुल बहादुर परियार,उनको श्रीमती बर्ष ४३ की मनकुमारी परियार, उनकी आमा वर्ष ८५ की लक्षीमा परियार, उनका छोरी बर्ष १५ की प्रशना परियार,उनका बिवाहित छोरी वर्ष २० की प्रभा परियार, चितवन घर भई ससुराली आएका उनका ज्वाई वर्ष २५ अस्मित परियारको ज्यान गएको सुचना अधिकारी शर्माले जानकारी दिए ।
यस्तै सोही ठाउँ बस्ने वर्ष ५६ की राधिका परियारको घटनास्थलमा उद्धार गर्ने क्रममा लडी ज्यान गएको शर्माले बताए ।
मृतक राधिकाका छोरा वर्ष ३१ का कुमार परियार , मृतक कुलबहादुरका छोरा वर्ष १७ का पवन परियार घाईते भएका छन् । उनीहरुको क्षेत्रीय अस्पतालमा उपचार पछि डिस्चार्ज भएको बताइएको छ ।
यस्तै आज बिहान २ बजेर १५ मिनेटको समयमा पोखरा महानगरपालिका वडा नं। ३२ चैनपुर स्थित बाह्रबिसेमा बर्ष ४० की आरती ओझाको ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची घरमा पहिरो झर्दा उनी छोरी बर्ष १८ की अनिता ओझा, अर्को छोरी वर्ष ११ की अनुष्का ओझा र उनको दाईको छोरा वर्ष ९ का प्रतिक सुवेदीको ज्यान गएको छ । घाईते आरती ओझाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।
यस्तै आजै बिहान १ बजेको समयका कास्की मादी गाउँपालिका वडा नं। ११ तल्लो ताप्ले स्थितमा बस्ने बर्ष ८० की माईती कुमारी गुरुङको पहिरोमा परि ज्यान गएको छ । उनको ढुङ्गा माटोले बनेको जस्ताले छाएको १ तले कच्ची घर अबिरल बर्षाको कारण घर माथीबाट झरेको पहिरोमा परी बेपत्ता भएकी माईती आज बिहान ७ बजे मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । उनको छोरा ५५ वर्षका ओम बहादुर गुरुङलाई भने प्रहरी र स्थानीयले सकुशल उद्धार गरेको प्रहरीले बताएको छ ।
कास्कीमा बाढी पहिरो आए पछि उद्धार र राहातका लागि प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा उद्धार टोली कास्कीको मादीमा पुगेको छ ।













