बागुलङ बजार डुबानमा

केन्द्रभाग मिडिया

तस्वीर : सामाजिक सञ्जाल

काठमाडौं । बुधबार साँझदेखि परेको अविरल वर्षाले बागलुङ बजार क्षेत्र प्रभावित भएको छ । भारी वर्षापछि आएको भलपानीले निकास नपाउँदा बजार क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।

बजारको माथिल्लो भेगबाट आएको बल बजारमा पसेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले जानकारी दिए । राति बजार क्षेत्र जलमग्न भए पनि अहिले अवस्था केही सुधार भएको उनले बताए । ‘श्रीनगर टोलमा अलि बढी पानी पसेको भन्ने खबर आएको छ । तर एकीन क्षति विवरण आइसकेको छैन, हामी बुझ्दैछौं’, उनले भने ।

उच्च भेगमा भएको बागलुङ बजार यसअघि त्यसरी डुबानमा परेको थाहा नभएको स्थानीयले बताएको डीएसपी यादवले सुनाए ।

स्थानीयका अनुसार मध्यपहाडी लोकमार्गदेखि आएको भल बागलुङ बजारमा पसेको हो । भलबाढीले बजार क्षेत्रका विभिन्न बाटोमा क्षति पुर्‍याएको बताइएको छ ।

लोकमार्ग अवरुद्ध

भारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।

पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायाता ठप्प हुँदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

  • २७ असार २०८१, बिहीबार ०९:३५ प्रकाशित