काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएपछि डा . मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछानेमाथि आक्रोश पोखेका छन् । पत्रकार सम्मेलन गर्दै उनले लामिछानेमाथि विभिन्न आरोप लगाए ।
सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाइज्याक गरेर क्लबमा परिणत गरेको उनको भनाइ थियो । सभापतिमाथि नै प्रश्न उठेपछि आफू वाध्य भएर जनतामा गएको ढकालले बताए । सहकारी प्रकरणमा रास्वपाले पनि छानविन गर्नुपर्ने उनले माग गरे ।
‘सर्वोच्च अदालतले पनि फैसला गरिसकेको छ । पार्टीभित्रबाट स्वतन्त्र उच्चस्तरीय छानविन समिति गठन हुनुपर्यो,’ उनले भने, ‘छानबिन समितिमा रवि लामिछानेका गोजीबाट होइन स्वतन्त्र व्यक्तिहरु राख्नुपर्यो ।’
उनले रविको पासपोर्टको विषयमा पनि उच्चस्तरीय छानबिन गर्नुपर्ने बताए ।ढकालले आफू अझै पनि महामन्त्री रहेको जिकिर गरे । चाहेमा कुर्सीमा गएर बस्न सक्ने तर लफडा गर्ने पक्षमा नरहेको उनले बताए ।
सात दिनको म्याद राखेर स्पष्टीकरण सोधिएकोमा त्यो म्याद नसकिँदै कारबाही गर्न नपाउने ढकालले बताए ।