पोखरा ।
निरन्तरको वर्षासंगै पोखरा-२७ को सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर एकजनाको ज्यान गुमेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा २७ का ५१ वर्षीय मनबहादुर थापाको कच्चि घर माथिबाट विहान ४ बजे आएको पहिरोले पुरिएर घरमा सुतिरहेका २२ वर्षीय छोरा भीमबहादुर थापाको ज्यान गुमेको हो ।
भीमबहादुरकी आमा ५० वर्षीय कमला थापाको भने उद्दार गरिएको छ । पहिरोले पुरिएर सुरुमा बेपत्ता रहेका भीमको नेपाल प्रहरी र स्थानीयले खोजी गर्दा बिहान मृत अवस्थामा भेटिएको कास्की प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
‘बिहान ४ बजे आएको पहिरोमा परेकी कमला थापाको उद्दार भएको छ । सुरुमा पहिरोले बेपत्ता हुनुभएका उहाँका छोरा भीमबहादुर थापाको बिहान शव भेटिएको छ’ उनले भने ।
तीन जना बस्ने उक्त घरमा गएराति घरधनी मनबहादुर थापा भने अन्यत्र बस्न गएकाले उनी सकुसल रहेको प्रवक्ता शर्माले बताए ।













