विराटनगर ।
धारिलो हतियार प्रहार गरि विराटनगरमा एक युवकको हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
मोरङ प्रहरीका अनुसार सोमबार राति विराटनगर-२ स्थित नेपाल टेलिकम नजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए । घाइतेमध्ये कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामतको ज्यान गएको हो ।
कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको बताइएको छ ।
घाइते रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट छ । मण्डलको पाखुरा र ढाडमा घोपिएको चोट छ । उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।