१० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने नेकपा एसको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई दश दिनभित्र पूर्णता दिने जनाएको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘प्रदेशका इन्चार्ज, सचिव र केन्द्रीय कमिटीमा रहेका केन्द्रीय सदस्यहरूसहितको परामर्शमा प्रदेश र जिल्ला क्लस्टर मिलाई आवश्यक व्यवस्था गर्न केन्द्रीय सदस्यहरूमा मनोनयन गर्ने आधार तयार गर्न जिम्मेवारी प्रदान गरिएको छ’, बैठकपछि खतिवडाले भने, ‘यो जिम्मेवारी अन्तर्गत केही दिनभित्र उहाँहरूले आफ्नो काम सम्पन्न गर्नुहुनेछ । अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै रहनेछ ।’ त्यस्तै उनले दश दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिइने बताए ।

नेकपा एकीकृत समाजवादीको शुक्रवार सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानित नेतासहित ९३ सदस्यीय केन्द्रीय कमिटी बनाए पनि बाँकी २०६ जना केन्द्रीय सदस्य तोक्न सकेको छैन ।

  • २३ असार २०८१, आईतवार १५:०६ प्रकाशित