पोखरासंग जोडिएका तीन वटै राजमार्ग अबरुद्ध

स्याङ्जाको वालिङ र गल्याङको ४ ठाउँमा पहिरो, तनहुँको म्याग्दे ४ मा तीनवटा गाडी फसे, मलढुंगा-बेनी सडक खण्डमा पहिरो

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।

निरन्तरको वर्षाका कारण आएको पहिरोको कारण पोखरासंग जोडिएको तीन वटै राजमार्ग अबरुद्ध भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपीशेरचन राजमार्ग अबरुद्ध भएको हो ।

पृथ्वी राजमार्ग तनहुँको म्याग्दे ४ स्थित मनहरा सडकखण्डमा तीन वटा बस र ट्रक फस्दा बाटो अवरुद्ध भएको हो । विहान ६ः५० देखि अबरुद्ध रहेको सडक खुलाउने प्रयास भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

सिद्धार्थ राजमार्गको वालिङ र गल्याङ सडक खण्डको ठाउँ ठाउँमा गएको पहिरोले सडक अबरुद्ध छ । विहान ६ बजेदेखि नै सो राजमार्ग अबरुद्ध रहेको प्रवक्ता रेग्मीले जानकारी दिए ।

उनका अनुसार वालिङ ८ को ओमशान्ति नजिक, वालिङ १० को मोदीखोला, गल्याङ ८ को चिउरी र गल्याङ ११ को मुङ्चिलामा आएको पहिरोका कारण बाटो अबरुद्ध भएको हो ।

यसैगरी भूपी शेरचन राजमार्गको मालढुंगा-बेनी सडक पनि बिहान ५ः५० देखि अबरुद्ध भएको छ । पहिरोकै कारण उक्त सडक खण्ड अबरुद्ध भएको एसएसपी रेग्मीले जानकारी दिए ।

उनका अनुसार अबरुद्ध भएका सबै ठाउँमा सडक खुलाउने प्रयास जारी छ । निरन्तर वर्षा भइरहेको र अबरोध हटाउन पनि कठिन रहेको उनले जानकारी दिए । साथै अरु स्थानमा पनि पहिरो जानसक्ने जोखिम रहेको उनले सुनाए ।

  • २२ असार २०८१, शनिबार ०७:३० प्रकाशित