नेकपा एसको २९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी घोषणाको तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नयाँ नेतृत्वसहितको (२९९ सदस्यीय) केन्द्रीय कमिटी घोषणा गरेर नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशन शुक्रवार छैटौँ दिनमा समापन हुने भएको छ ।

काठमाडौँको प्रज्ञा भवनमा गत असार १६ गतेदेखि सुरु भएको महाधिवेशनमा अध्यक्ष, महासचिव र सम्मानित नेताबाहेक १८ पदाधिकारीसहित २९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी घोषणा गरिने नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शुक्रवार बिहान १० बजे नयाँ कमिटी घोषणा गरिने भनिए पनि आन्तरिक छलफलका कारण ढिला हुने तर अपराह्नसम्म घोषणा गरिने बताए । तीन मुख्य पदमा बिहीबारै सहमति जुटाएर घोषणा गरिए पनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति जुट्न नसकेपछि आजलाई सारिएको थियो ।

नेताहरूले बाँकी पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत छनोट गर्ने तयारी गरेका छन् । त्यसका लागि सचिवालयलाई जिम्मेवारी दिइएको छ । ‘वर्क आउट हुँदैछ । ढिलोमा दिउँसो ३ बजेसम्म नयाँ कमिटी घोषणा हुन्छ’, नेता श्रेष्ठले भने, ‘प्रविधिका विषय मिलाएर सचिवालय बैठक बस्छ र लगत्तै घोषणा गर्ने तयारी छ ।’

बिहीबार पार्टीका सम्मानित नेता तथा निर्वाचन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले अन्य पदाधिकारी र केन्द्रीय सदस्य सचिवालयले सहमतिमै टुङ्ग्याउने प्रस्ताव हलमा गरेका थिए । सो प्रस्तावलाई पनि हलले ताली बजाएर अनुमोदन गरेको थियो ।

एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्ने विधान पारित भैसकेको छ । महाधिवेशन हलबाट बिहीबार अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको घोषणा भएको थियो ।

  • २१ असार २०८१, शुक्रबार १३:३९ प्रकाशित