डेङ्गीको संक्रमण दिनदिनै बढ्दै : सर्तकता अपनाउन आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

दिनहुँ पानी परिरहेकाले डेङ्गीको संक्रमण दिनदिनै बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा संक्रमण देखिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा सङक्रमण देखिएको उनले जानकारी दिए ।

सबैभन्दा बढी काठमाडौंमा एक सय ५९ जनामा डेङ्गी देखिएको छ । झापामा एक सय २० र चितवनमा ८३ जनामा डेङ्गी संक्रमण देखिएको छ । डाक्टर दाहालले पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको जोखिम बढेको जानकारी दिए । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’प्रजातिको लामखुट्टेले फुल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्दछ ।

किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले डेङ्गी सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन । डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता विषयमा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।

  • २१ असार २०८१, शुक्रबार १०:३३ प्रकाशित