लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिएको छ ।केन्द्रमा एमाले र कांग्रेसबीच सत्ता समीकरणको सहमति भएपछि प्रदेशमा पनि यसअनुसार समीकरण हेरफेरको प्रयास शुरु भएको हो ।

लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकारमा एमालेका पाँच मन्त्री थिए । उनीहरुले हिजो राजीनामा दिएपछि मुख्यमन्त्री महराले अब विश्वासको मत लिनुपर्ने हुन्छ । अहिलेको समीकरणअनुसार महराले विश्वासको मत पाउने अवस्था छैन । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सदस्यको समर्थन आवश्यक पर्छ । कांग्रेस र एमालेसँग ५६ सांसद छन् ।

यस्तै सुदूरपश्चिममा एमालेले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसअघि केन्द्रमा एमाले–माओवादीसहितको गठबन्धन बनेपछि एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारी गएको वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सदस्यको समर्थन आवश्यक पर्नेमा कांग्रेसका १८ र एमालेका ११ सदस्य रहेकाले नयाँ गठबन्धनलाई सुविधाजनक बहुमत छ ।

  • २१ असार २०८१, शुक्रबार १०:२५ प्रकाशित