दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रचण्डलाई एमालेको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेको बताएका छन् ।

कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको एमालेले उल्लेख गरेको छ । ‘‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दछ’, महासचिव पोखरेलले विज्ञप्तिमा भनेका छन् ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । त्यसपछि बुधबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने एमालेबाट सरकारमा रहेका ८ जना मन्त्रीले बुधबारै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

  • २० असार २०८१, बिहीबार १५:३७ प्रकाशित