नेकपा एसको महाधिवेशन

आजबाट निर्वाचन प्रक्रिया सुरु : अध्यक्षमा माधव र घनश्यामको दाबी, सर्वसम्मतिको प्रयास

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीको दसौँ महाधिवेशन अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा पेस भएका विभिन्न दस्ताबेजहरू अनुमोदन भएसँगै निर्वाचन प्रक्रिया सुरु भएको हो ।

महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पेस भएका थिए ।ती प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल भएको थियो । समूहगत छलफल र महाधिवेशन हलमा प्रतिवेदनमाथि सुझाव राखेर बुधवार सबै प्रतिवेदन पारित भएका थिए ।

दस्ताबेजहरू पारित भएसँगै नेतृत्व छनोटका लागि केन्द्रीय निर्वाचन कमिटीले बिहीबार बिहान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ ।

अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले आफ्नो दाबी कायमै राखेका छन् । सहमति नभए अध्यक्षका लागि यी दुई नेताबीच प्रतिस्पर्धा हुनेछ । आफ्नो नाममा सर्वसम्मत गराउने प्रयास जारी राखेका नेपालले पार्टी नेतृत्वका लागि ‘युवाको साथमा अनुभवी नेतृत्व’ नारा अघि सारेका छन् । एमालेबाट विद्रोह गरी पार्टी बनाउन आफ्नो भूमिका महत्त्वपूर्ण भएको दाबी गर्दै उनी पुनः अध्यक्षमा दोहोरिन चाहेका हुन् ।

उनले आफ्नो दाबेदारीलाई ‘विद्रोहको मर्म र भविष्यको आशाले प्रेरित हाम्रो यात्रा’ भनेका छन् । महासचिव भुसालले भने पार्टी रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् । उनले ‘यथास्थितिलाई अन्त्य गरौं, नौलो इतिहास कायम गरौं’ सन्देशसहित प्रतिनिधिसँग छलफल गरिरहेका छन् ।

नेपाल र भुसालले अध्यक्षका लागि दाबी गरिरहँदा अन्य नेताहरूको जोड भने नेतृत्व सर्वसम्मत गर्नेमा छ । महाधिवेशनमा सहभागी १ हजार ८ सय प्रतिनिधिबाट छानिएका अधिकांश टोली नेताले विद्रोहपछि पहिलो पटक भएको पार्टी महाधिवेशनमा अध्यक्ष नेपाल र महासचिव भुसालबीच सहमति गरी नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।

उपाध्यक्ष बेदुराम भुसालले पनि अध्यक्षको हकमा सर्वसम्मत प्रयास भइरहेको बताए ।२१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ ।

  • २० असार २०८१, बिहीबार ११:२० प्रकाशित