पहिरोका कारण बेनी–जोमसोम सडकमा आवतजावत बन्द हुन थाल्यो

केन्द्रभाग मिडिया

File photo

म्याग्दी ।

म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ ।

सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घन्टौँसम्म जाममा पर्ने गरेका अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

‘रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुवारी र अन्नपूर्णको गुइठेभिरको पहिरो बर्खायामको सुरुआतसँगै सक्रिय भएका छन्’, बुधबार बेनीदेखि पोखरेबगर जाने क्रममा छ घन्टा बैसरीको जाममा फसेका उनले भने, ‘अन्नपूर्णको नौलीबगर, खामभित्ता, तितर, रुप्से, काभ्रेभिर, घोप्टेभिरदेखि मुस्ताङको लेतेसम्म बर्खायामको यात्रा जोखिम र सास्तीपूर्ण बनेको छ ।’

मुस्ताङको थासाङ गाउँपालिका–४ लेतेका सोमविर परियारले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न समस्या भएको बताए । ‘पहिरो खस्न रोकिएको मेसो पारेर वारपार गर्नुपर्छ’, उनले भने, ‘हिँडिरहेको अवस्थामा कुन बेला पहिरो खसेर पुर्छ भन्ने जोखिम र त्रास छ ।’रघुगङ्गा गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बैसरीमा सडकमाथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखो पहिरोमा परिणत भएको छ । सडकमाथि पहाडको डिल छ । पहाडमाथिको पाखो सडकबाट देखिँदैन । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारी साधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको सवारी चालक सुरेश सेञ्चुरीले बताए ।

मङ्गलबार जोमसोमबाट बेनीतर्फ जाँदै गरेको बा ०२६च ७०५३ नम्बरको इको भ्यान पुुरिएको थियो । यसअघि जेठ अन्तिम साता गुइठेभिरमा गुड्दै गरेको बोलेरो जिपमाथि पहिरो खसेर पुरिएको थियो ।

पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन् । छैहत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सञ्चालन नहुँदा आवतजावतका साथै आलुलगायत कृषिउपज निकासी प्रभावित भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाका अनुसार १४ वटा पहिरो छन् ।

बैसरी पहिरोको बुधबार स्थलगत निरीक्षण गरेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अल्पकालीन रुपमा पहिरो नियन्त्रण, यातायात सञ्चालनका लागि सडक विभागका उपकरण, प्राविधिक, मजदुरका साथै सुरक्षा निकायलाई पनि परिचालन गरिएको जानकारी दिए ।

  • २० असार २०८१, बिहीबार ०९:१८ प्रकाशित