देउवालाई भेटर प्रचण्डले जुल्फी हल्लाएपछि सरकार परिवर्तन : अधिकारी

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवलाई भेटेर जुल्फी हल्लाएपछि सरकार परिवर्तनको अवस्था आएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पण गरेका हुन् । एमाले अध्यक्ष केपी ओलीसँग शेरबहादुर देउवाले १५ असारमा छलफल गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्रीले देउवालाई भेटेर जुल्फी हल्लाएको कारण नै सरकार परिवर्तनको अवस्था आएको उनको दाबी छ । यो चक्र घुमिरहने भएकोले यसलाई सामान्य रुपमा लिन नको आग्रह छ । जनताले व्यवस्थाप्रति प्रश्न चिन्ह उठाइरहेकोले पुरानै राजनीतिक दलमा सुधार ल्याएर जनताको विश्वास जित्ने प्रयास समेत रहेको उनको भनाई छ ।

संविधान संशोधन गर्नको लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको उनले उल्लेख गरे। त्यसको लागि राष्ट्रिय सहमतीको सरकार बनाउने प्रयास गरिने उनले बताए । अब चुनाव अगाडि गठबन्धन समेत नबनाइने उनको दावी छ ।

’केन्द्रमा पनि चुनाव अगाडि गठबन्धन नबनाउने, एकल चुनावमा प्रतिष्पर्धा गर्ने हो, यसमा नेपाली कांग्रेस सहमत हुने देखियो, हाम्रो त माओवादी केन्द्रलाई समेत सहमत गराएर राष्ट्रिय सरकार बनाउने प्रयत्न हो’उनले भने ।

हरेक पटक केपी ओली प्रधाननमन्त्री हुँदा मात्र संविधान संसोधन हुने गरेको भन्दै भूगोल र जनसंख्या नमिलेर चुनाव नहुने अवस्थाको सिर्जना हुँदा तथा नेपालको भू–भाग समेटेर नक्सा प्रकाशित गर्दा भएको संविधान संशोधनको स्मरण उनले गराए ।

‘७ सय ५३ वटा स्थानीय तह छन्, सातवटा प्रदेश तह छन्, सबैलाई सानो नपारिकन स्थायी सरकार पनि हुने भएन, जनतामा आर्कषण पनि हुने भएन त्यसैले हामी संविधान संसोधन गर्न चाहन्छौ’ अधिकारीले भने ।

यसैगरी समानुपातिक तर्फको प्रदेशको संख्या काटेर प्रत्यक्ष मात्र राख्ने र सानो साइजको प्रदेश सरकार बनाइने उनको भनाई छ । गण्डकी प्रदेशमा १२ वटा मन्त्रालयको पुगेर खर्च बढेको अवस्थामा आफूले सिधै ७ वटामा झारेको र यो कदमले जनतामा त्यतिबेला आशाको सञ्चार जगाएको उनले सुनाए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष राजीव पहारी, नेकपा एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री लगायतले बोलेका थिए ।

राष्ट्रिय युवा संघ नेपालले ३ लाख विरुवा रोप्ने लक्ष्य राखेकोले सोही अनुसार ७३ औं मदन जयन्तीको अवसरमा कार्यक्रम गरिएको कास्की अध्यक्ष शंकर पौडेलले जानकारी दिए ।

  • १९ असार २०८१, बुधबार ०७:४५ प्रकाशित