प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २० र २१ गते

केन्द्रभाग मिडिया

काठमाडौँ।

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र उहाँको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको हो ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित प्रधानमाथिको सुनुवाइ गर्ने सम्बन्धमा छलफल गरी समितिले सचिवालयको तर्फबाट प्रस्तावित असार २० र २१ गतेको मिति परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति)पशुपति शमशेर जबराले जानकारी दिए ।

उनले भने, ‘निर्वाचन आयुक्तका लागि प्रस्तावित व्यक्ति प्रधानमाथिको सुनुवाइ गर्ने सचिवालयको प्रस्तावलाई परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु ।’

गत असार २ गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानलाई सो पदका लागि सिफारिस गरेको थियो भने समितिको असार ७ गते बसेको बैठकले उहाँमाथि उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरेको थियो ।

निर्वाचन पर्यवेक्षकको रूपमा समेत काम गरिसक्नुभएका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

  • १८ असार २०८१, मंगलवार १४:५० प्रकाशित