केन्यामा कर विरोधी आन्दोलन हिंसात्मक : ३९ जनाले ज्यान गुमाए, ३६१ जना घाइते

केन्द्रभाग मिडिया

नैरोबी ।

केन्यामा नयाँ कर वृद्धिको विरोधमा हिंसात्मक प्रदर्शन भइरहेको छ । यस हिंसामा अहिलेसम्म कम्तीमा ३९ जनाको ज्यान गुमाइ सकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । प्रदर्शनकारीहरूले नयाँ चरणको विरोध प्रदर्शनको लागि तयारी गरिरहेको भन्दै समाचारहरू आइरहेका छन् ।

केन्या राष्ट्रिय मानव अधिकार आयोगको रेकर्ड अनुसार राष्ट्रव्यापी कर कानुनको विरोध प्रदर्शनका क्रममा ३९ जनाको गएको छ र अन्य ३६१ जना घाइते भएका छन् ।

यसबाहेक ३२ वटा जबरजस्ती बेपत्ताका मुद्दा पनि दर्ता भएका छन् । यस क्रममा ६२७ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

यसकारण भइरहेको छ हङ्गामा

केन्यामा सरकारले नयाँ कर लगाएपछि जनता निकै आक्रोशित भएका छन् ।

केन्या फाइनान्स बिल २०२४ यही मेमा पेस गरिएको थियो । जसमा पाउरोटी, क्यान्सरको उपचार, खाना पकाउने तेल, बालबालिकाको डायपरदेखि सेनेटरी प्याड, मोटर वाहन, सौर्य उपकरण र डिजिटल सेवा जस्ता उत्पादनहरूमा भारी कर लगाउने प्रस्ताव गरिएको छ ।

रोटीमा १६ प्रतिशत बिक्री कर, खाना पकाउने तेलमा २५ प्रतिशत कर, सवारी साधनमा २ दशमलव ५ प्रतिशत भ्याट र ३ प्रतिशत आयात शुल्क लगाउने प्रस्ताव गरिएको छ ।

  • १८ असार २०८१, मंगलवार १०:५६ प्रकाशित