रोल्पामा जिप दुर्घटना : ७ जनाको ज्यान गयो, ८ जना घाइते

केन्द्रभाग मिडिया

बुटवल ।

रोल्पा तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित ७ जनाको ज्यान गएको छ भने अन्य ८ जना घाईते भएका छन् । दुर्घटनामा पाँच जनाको घटनास्थलमै र दुई उपचारको क्रममा गरी सात जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

माडी गाउँपालिका वडा नं. ४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका परेवा छहरामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालावाङका वर्ष ३३ की जुनमाया खड्का, सोही ठाउँ बस्ने वर्ष ७७ का खडकबहादुर डाँगी, दाबाङ निवासी वर्ष ३० की अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सी निवासी वर्ष ३३ की रामकली रहेको प्रहरीले जनाएको छ। उनीहरुको घटनास्थलमै ज्यान गएको हो ।

यस्तै रेऊघा अस्पतालमा उपचारका लागि पुर्‍याइएका माडी गाउँपालिका–३ दाबाङ निवासी ७० वर्षीय झुपलाल डाँगी र सोही ठाउँ निवासी एक महिलाको ज्यान गएको छ । अर्की महिलाको नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकालाई घर्तीगाउँ स्मृति अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि रेउघा जिल्ला अस्पतालमा रिफर गरिएको छ ।

अस्पताल रिफर हुनेमा माडी गाउँपालिका २ घर्तीगाउँ निवासी वर्ष ६ का हिटलर खड्का, तालाबाङ् निवासी वर्ष ६० की कर्मा बुढामगर, वर्ष ४२ की बरमाली घर्ती, वर्ष ३७ का खगेन्द्र बाठा, वर्ष १३ की प्रतिभा बुढामगर, परिवर्तन गाउँपालिका–२ नाफे वर्ष ४५ का दीपक थापा ९चालक०, गंगादेव गाउँपालिका–७ का ५० वर्षीय नैनसिंह पुन र माडी गाउँपालिका–३ दाबाङका वर्ष ४० की दिलकुमारी बुढा मगर रहेका छन् ।

घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले बताए ।

  • १८ असार २०८१, मंगलवार १०:२८ प्रकाशित