असई थमन विक हत्या प्रकरण : पूर्वप्रदेश सांसद कौशल यादव पक्राउ

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।

फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिएका छन् ।

उनलाई आजै जिल्ला अदालत महोत्तरीमा हाजिर गरिएको छ । लोसपाका नेतासमेत रहेका उनी लामो समयदेखि फरार थिए । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं। ४ ९क० मा प्रदेश सांसद निर्वाचित भएका थिए ।

२०७९ को निर्वाचन अघि जसपाले उनलाई पार्टीबाट निष्काशन गरेपछि लोसपाबाट चुनाव लडेका थिए । तर पराजित भए । अदालतमा मुद्दा चलिरहँदा उनी फरार नै थिए ।
महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

यादवसहित १९ जनाको मुद्दा मुल्तवीमा राखिएको थियो ।मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

  • १६ असार २०८१, आईतवार १५:४७ प्रकाशित