अब नेपालीले भारत र भुटानमा क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्र बैंकले अन्तरदेशीय भुक्तानीमा क्यूआर कोड प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्रमा संशोधन गदै क्यूआरमार्फत विदेशमा पैसा पठाउन पाउने व्यवस्था गरेको हो ।

यो व्यवस्थाअनुसार नेपालीले अब भारत र भुटानमा क्यूआरमार्फत मासिक एक लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् ।

यसैगरी नेपालमा कार्यरत भारतीयले पनि व्यक्तिगत तथा संस्थाको क्यूआरबाट भारतीय बैंक खातामा रकम जम्मा गर्न सक्नेछन् । यसअघि कार्डमार्फत मात्रै दिईएको यस्तो सुविधा अब क्यूआरमार्फत पनि दिन लागिएको हो ।

भारतीय रुपैयाँको सटही सुविधा क्यूआर कोड र विद्युतीय माध्यमबाट भारत र भुटानमा भुक्तानी हुने गरीसमेत उपलब्ध गराउने सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

बैंकको निर्देशिका अनुसार भारतीय रुपैयाँको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खातामा आवद्ध क्यूआर कोड लगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) मार्फत भारत र भुटानमा भुक्तानी हुने गरी उपलब्ध गराउन सकिनेछ ।

यसरी सटही सुविधा उपलब्ध गराउँदा राष्ट्रिय भुक्तानी स्वीच पूर्णरूपमा सञ्चालनमा नआएसम्म यो अन्तर्गतको रिटेल पमेन्ट स्विचको माध्यमबाट प्रदान गर्नुपर्ने राष्ट्र बैंकको निर्देशिकामा उल्लेख छ ।

  • १४ असार २०८१, शुक्रबार १०:४६ प्रकाशित