पर्यटन क्षेत्रको माग र शिक्षणसंस्थाको उत्पादनमा मेल खाएन

पर्यटन क्षेत्र भन्छः जनशक्ति अभाव छ, शिक्षण संस्था भन्छनः हामीले वर्षेनी उत्पादन गरेकै छौं

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा मात्र करिब एकहजार होटल छन । त्यस्तै दुइसय हाराहारीमा रेस्टुरेन्ट छन । होटल र रेस्टुरेन्ट बाहेक ट्राभल, ट्रेकिङ, प्याराग्लाइडिङ लगायतका सयौं पर्यटकीय उद्योग संचालनमा छन, जहाँ हजारौंले रोजगार पाएका छन ।

ठूलो जनशक्तिले हाल पर्यटन क्षेत्रमा रोजगार पाइरहँदा त्यो अझै अपुग रहेको पर्यटन क्षेत्रकै गुनासो छ । मागेजति र खोजेजति दक्ष जनशक्ति नपाएको व्यावसायीले बताउने गरेका छन् । जनशक्ति अभाव हुँदै गए पर्यटन क्षेत्र थप जोखिममा पर्नसक्ने पनि उनीहरुको चिन्ता छ । पर्यटन व्यावसायीका अनुसार अहिले गण्डकीमा मात्र करिब ७५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पर्यटन क्षेत्र फस्टाउँदै जाँदा जनशक्ति अभावको खड्को पर्यटन क्षेत्रले देखेको छ । तर पोखरामै पर्यटनका विभिन्न विषय अध्यापन गराउने शिक्षण संस्थाले भने विद्यार्थीले पर्यटन क्षेत्रमा पर्याप्त रोजगारी पाउन नसकेको गुनासो पनि गर्ने गरेका छन । होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम लगायतका विषय अध्यापन गराएर वर्षेनी सयौं विद्यार्थी उत्पादन गर्दा पनि ती विद्यार्थीले पर्यटनको राजधानी पोखरामा सहजै रोजगार नपाएको गुनासो शिक्षण संस्थाको छ ।

पर्यटन क्षेत्रको माग र शिक्षण संस्थाको उत्पादनमा तादम्यता नमिल्दा अन्योल भएको दुवै क्षेत्रको ठहर छ । गैहपाटनस्थित पश्चिमाञ्चल माविले पर्यटन क्षेत्रका अगुवा व्यावसायीसँग बुधबार शिक्षण संस्थाले उत्पादन गरेका जनशक्तिलाई कसरी पर्यटन क्षेत्रको उपयोगमा ल्याउन सकिन्छ भन्ने बारेमा छलफल गरेको थियो ।

छलफलमा सहभागि व्यावसायीले जनशक्ति अभाव बढ्दै गएमा पर्यटन क्षेत्रको भविश्य पनि अन्योलमा पर्ने चिन्ता जनाए । शिक्षण संस्थाका पदाधिकारीले पनि युवा जनशक्तिलाई विदेश पलाउन हुन नदिन स्थानीयस्तरमा रोजगारमा अवसर र प्राथमिकता दिलाउन व्यावसायीलाई सुझाए ।

होटल संघ गण्डकी अध्यक्ष हरि शर्माले भने, ‘होटल व्यवस्थापन विषय पढाउँदैमा दक्ष जनशक्ति पुरा भयो भन्न मिल्दैन । पर्यटन क्षेत्रका लागि चाहिने सबै विषयका विद्यार्थी उत्पादनमा ध्यान दिन जरुरी छ । इतिहासदेखि संस्कृति र भूगोल जान्ने जनशक्ति पनि पर्यटनमा आवश्यक छ । जसले विदेशी पाहुनालाई आवश्यक गाइड गर्न सकुन । विदेशीको बसाई अवधि बढाउने हो भने प्रकृतिदेखि संस्कार संस्कृति बताउन सक्ने जनशक्ति पनि चाहिन्छ ।’ उनले जनशक्ति अभाव हुँदै गए भविश्यमा पर्यटन क्षेत्र जोखिममा पर्नसक्ने चिन्ता जनाए ।

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले युवापुस्ता पलायन हुँदै जाँदा पर्यटन क्षेत्रमा पाको जनशक्तिको भरमा मात्र टिक्नुपरेको बताए । पाको जनशक्तिको उमेर सकिँदै जाँदा कुनैपनि बेला पर्यटन क्षेत्रलाई थप कामदारको अभाव हुनसक्ने जोखिम रहेकोले युवापुस्तालाई विदेशीन दबाट रोक्नुपर्ने बताए । ‘पर्यटन क्षेत्र भनेको छिटोगरि स्वरोजगार बन्ने क्षेत्र पनि हो । खालि अरुकोमा काम गर्नुपर्छ भन्ने पनि छैन,’ उनले भने, ‘अध्यापन गराउँदा स्वरोजगार बन्ने गरि अवसरको ढोका पनि खोलिदिनुपर्छ ।’

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) अध्यक्ष नरेश भट्टराईले पर्यटन क्षेत्रमा प्राविधिक जनशक्ति अभाव रहेको बताए । ‘होटललाई चाहिने इलेक्ट्रिसियनको अभाव हामीलाई छ । त्यसैले अब प्राविधिक शिक्षा दिएर जनशक्ति उत्पादनमा जोड दिनुपर्छ,’ उनले भने, ‘वेटर, कुक, सेफ पनि अभावै छ । तर, प्राविधिक क्षेत्रका जनशक्तिको खाँचो बढी छ ।’

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थीले विद्यार्थीलाई इन्टर्नशीपको अनिवार्यता गर्ने हो भने जनशक्तिको अभाव केही कम गर्न सकिने बताए । होटल संघ पोखराका महासचिव राजेन्द्र ढकालले खोजेको जनशक्ति स्वदेशमा नपाएपछि विदेशीलाई महंगो पारिश्रमिक दिएर राख्नुपर्ने अवस्था रहेको बताए ।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले तल्लो तहमा मात्र नभई माथिल्लो तहमा पनि जनशक्ति खाँचो रहेको बताए । ‘अब शिक्षण संस्थाले पर्यटनका लागि चाहिने सबैखालको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘पोखरामै काम र दाम पाइने अवसर छ । त्यसको महत्व बुुझाउने हो भने स्वदेशमै रोक्न सकिन्छ ।’

पश्चिमाञ्चल माविका संयोजक देव क्षेत्रीले पोखरामा करिब दर्जन संस्थाले होटल व्यवस्थापन विषय अध्यापन गराएर जनशक्ति उत्पादन गरेपनि पोखराकै लागि टिकाउ हुन नसकेको बताए । विद्यालयका अध्यक्ष प्राडा रामनाथ ओझले पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी पाठ्यक्रम पढाएर भएपनि अब्बल विद्यार्थी उत्पादनमा विद्यालयले जोड दिने बताए । विद्यालयका प्राचार्य सरोज कोइरालाले पर्यटन क्षेत्रका लागि आवश्यक कु्नैपनि खालको जनशक्ति उत्पादनमा विद्यालयले साथ दिने वचन दिए । पर्यटन क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए ।

पश्चिमाञ्चल माविमा अहिले विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, मानविकी र कानुन विषयमा अध्यापन हुन्छ । अबको शैक्षिक सत्रदेखि सौन्दर्यकला विषयमा पनि विद्यालयले अध्यापन गराउने तयारी गरेको छ ।

  • १३ असार २०८१, बिहीबार १९:४० प्रकाशित