एसईईको नतिजा चित्त नबुझे १५ दिन भित्र आवेदन दिइसक्नुपर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे १५ दिन भित्र आवेदन दिइसक्नुपर्ने भएको छ । निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरिएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था ल्याइएको जानकारी दिए । ‘हामीले अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था यसपटकदेखि गरेका छौं । यसपटकबाट पुनर्योग गर्न विद्यार्थीहरु लाइन लाग्नुपर्ने अवस्था हटाएका छौं’, उनले भने ।

पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने शर्माले जानकारी दिए । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

चैत १५ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।

  • १३ असार २०८१, बिहीबार १६:४८ प्रकाशित