अन्नपूर्ण गाउँपालिकाको बजेट ५८ करोड ९५ लाख (पूर्णपाठ)

श्रीभद्र पौडेल

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आव २०८१/८२ का लागि ५८ करोड ९५ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । अन्नपूर्ण गाउँपालिकाको १६ गाउँसभामा उपाध्यक्ष चन्द्रकला अधिकारीले बजेट सार्वजनिक गरेकी हुन् ।

जसअनुसार संघीय समानीकरणबाट ९ करोड ९३ लाख, संघीय राजस्व बाँडफाँडबाट १० करोड ७२ लाख, संघीय समपूरक अनुदानबाट १ करोड २० लाख, संघीय विशेष अनुदान १ करोड १० लाख, संघीय सशर्त अनुदान २९ करोड ४६ लाख, प्रदेश समानीकरण १ करोड २६ लाख, प्रदेश राजश्व बाँडफाँडबाट ८६ लाख, प्रदेश समपुरक अनुदान ६० लाख, प्रदेश विशेष अनुदान ४० लाख, आन्तरिक आय २ करोड ९७ लाख तथा अघिल्लो वर्षको अल्या ४ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

सोमबार  उपाध्यक्ष अधिकारीले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारलाई प्राथमिकता दिई बजेट ल्याएको बताइन् ।  उनले गाउँपालिका सञ्चालनका लागि ९ करोड, वडागत रुपमा विनियोजन गर्न मिल्ने गरी वडा समितिलाई २ करोड ३८ लाख, वातावरण तथा विपद् व्यवस्थापन कोषका लागि ६३ लाख, सुशासन तथा संस्थागत विकासतर्फ ६५ लाख बजेट विनियोजन गरेको बताइन् । बजेटमा आर्थिक विकासतर्फ १ करोड ६२ लाख, सामाजिक विकासका लागि ३३ करोड, पूर्वाधार विकासतर्फ ११ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ ।

बजेटमा कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारलाई प्राथमिकता यसैबीच, गाउँसभामा आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१ तथा योजना तथा कार्यक्रम सहितको बजेट वक्तव्य प्रस्तुत गरिएकोमा सर्वसम्मत पारित भयो । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले अप्ठेरो अवस्थामा रही बजेट ल्याउनुपरेको स्पष्ट पार्दै बाँकी दायित्वका कारण पूर्वाधार विकासतर्फको बजेटमा केही कमी भएको बताए । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, पालिका प्रवक्ता भरतमान् गुरुङ, वडा ५ का अध्यक्ष जीवनाथ पौडेल, वडा २ अध्यक्ष पिताम्वर भण्डारी लगायतले बजेटमाथि धारणा राखे ।

गाउँसभा सदस्य जगनबहादुर गुरुङ, रामबहादुर विक, नीलकण्ठ चापागाई, कृष्णप्रसाद पौडेल, गौप्रसाद गुरुङ, भानुभक्त दाहाल लगायतले नीति तथा कार्यक्रम अनुसार बजेट आउन नसकेको, हलगोरु पाल्ने किसानलाई अनुदान दिन पहल नभएको, वस्तीस्तरबाट आएका योजनाको अवमूल्यन गरिएको, वडास्थित मुख्य बाटोलाई छोडी पहुँचका भरमा सहायक बाटोमा बजेट हालिएको, बाँदर नियन्त्रण बजेटले पूरा बेवास्ता गरेको भन्दै ती योजनालाई पनि बजेट सम्बोधन हुनुपर्ने माग गरे ।

गाउँपालिकाले आगामी आवमा भिजिट अन्नपूर्ण कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने भएको छ । आइतबार १६ औं गाउँसभाबीच आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भिजिट अन्नपूर्ण कार्यक्रमलाई पर्यटन प्रवद्र्धनको महत्वपूर्ण योजनाका रुपमा अगाडि सारेको हो ।

गाउँपालिकाले कृषितर्फ कृषि बिमा कार्यक्रमबारे जनचेतना फैलाउने, एक घर एक टनेल कार्यक्रममा ५० प्रतिशत अनुदान दिने, एक घर एक करेसावारी कार्यक्रम कार्यान्वयन गर्ने, पालिका स्तरीय कृषि सूचना केन्द्र स्थापना गर्ने, पार्कोट र लिमे जस्ता रैथाने जातका भैँसीपालनलाई प्राथमिकता दिने भएको छ ।

गाउँपालिकाले काम गरेर सिक्छ देखेर विश्वास गर्दछ, दुध उत्पादनको मुख्य आधार कृत्रिम गर्भाधानद्वारा पशुमा नश्ल सुधार, जहाँ विद्यार्थी त्यहाँ शिक्षक, विद्यालय परिवारसँग गाउँपालिका, अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, विद्यालय नर्सिङ कार्यक्रम, बुक फ्रि फ्राइडे, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, आफ्नो टोल नगरौं फोहोर, जेष्ठ नागरिक अनुभवका खानी सम्मान गर्ने बसालौं बानी जस्ता कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट हेर्न क्लिक गर्नुहोस्   

  • ११ असार २०८१, मंगलवार ०८:१० प्रकाशित