पोखरा ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि साढे ७ अर्बको बजेट ल्याएको छ । महागनरका उपप्रमुख महानगरको १५ औं नगर सभामा मन्जुदेवी गुरुङले ७ अर्ब ५१ करोडको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालू आर्थिक वर्षभन्दा ४३ करोड रुपैयाँ बढी हो ।
पोखराले चालू आर्थिक वर्षमा ७ अर्ब ८ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी आर्थिक वर्षको पूरा बजेटमध्ये आगामी वर्षका लागि संघ सरकारले ४ अर्ब २० करोड अनुदान दिनेछ भने प्रदेश सरकारले ९ करोड ६३ लाख अनुदान दिने बजेटमा उल्लेख छ ।
पोखराले १ अर्ब ५५ करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान गरेको छ । संघ सरकारले राजश्व बाँडफाँट मार्फत ३८ करोड ३३ लाख रुपैयाँ उपलब्ध गराउने छ भने प्रदेशले राजश्व बाँडफाँटमै ९ करोड ७२ लाख २० हजार, स्थनीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार प्राप्त हुने अनुमान गरिएको छ । बाँकी अपुग रकम नगर विकास कोष ऋण ४ करोड ४८ लाख ८० हजार व्यहोरिने बजेटमा उल्लेख छ ।
महानगरले पर्यटन र सहरी विकास कार्यक्रमका लागि ५६ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै शिक्षा, खेलकूद तथा यूवा र प्रज्ञा प्रतिष्ठान सम्वन्धी कार्यक्रम सञ्चालनका लागि १ अर्ब ६५ करोड, स्वास्थ्य क्षेत्रका लागि ३५ करोड, सामाजिक विकास कार्यक्रमका लागि ६ करोड र संस्थागत विकास तर्फ २ करोड बजेट विनियोजन गरिएको छ ।
पर्यटन केन्द्रीत बजेट ल्याएको महानगरले पर्यटनको राजधानी पोखरा घोषणापछि अगाडि सारिएका रणनीतिक महत्वका नीति, कार्यक्रम र आयोजना कार्यान्वयन गर्ने भन्दै सोका लागि बजेट विनियोजन गरेको छ । ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने र पोखरामा वार्षिक १५ लाख पर्यटन पु¥याउन पर्यटन प्रवद्र्धन गर्नका लागि रकम नतोकी बजेट विनियोजन गरिएको छ । पोखरालाई ब्राण्डिङ गर्नका लागि प्रवद्र्धन गर्न छिमेकी स्थानीय तहहरुसँगको सहकार्यमा पर्यटन लक्षित कार्यक्रम गर्न १ करोड ५० लाख विनियोजन गरिएको छ ।
महानगरले ‘पोखरा सबै मौसमका लागि’ अभियान सञ्चालन गर्ने भन्दै त्यसका लागि बजेट छुट्याएको छ । महानगरले पोखरा १ सिमपानीमा मुक्तिनाथ प्रवेश द्वार निर्माणका लागि बजेट विनियोजन गरेको छ । त्यस्तै, फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनको आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवा बिच निर्माणको काम शुरुआत गर्न २ करोड रुपैयाँ, भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रम अन्तर्गत फेवा फेरो पदमार्ग निर्माणका लागि ५० लाख र ड्यामसाइड पञ्चासे पर्यटकीय मार्ग विकासका लागि ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
महानगरले सिद्धार्थचोक९विन्ध्यबासिनी सडक खण्डमा पर्ने सम्पदा वस्ती संरक्षण, विकास र प्रवद्र्धनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पोखरा, मादी र रुपालाई जोड्ने रोयल ट्रेक निर्माणका लागि विस्तृत रुपमा अध्ययन गरी नक्साङ्कन, विकास र प्रवद्र्धन गर्न बजेट विनियोजन गरिएको छ । मुस्ताङचोक–सहिदचोक, चिप्लेढुंगा९सभागृह र जिरो–विन्ध्यबासिनी खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि ३ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा एकीकृत पञ्चासे क्षेत्र विकास योजना, ९ ताल जोड्ने साइकल मार्ग, फेवा लेक अर्गानिक ट्रेल, विन्ध्यवासिनि सम्पदा क्षेत्र विकास परियोजना लगायतका कार्यक्रम सञ्चालनका लागि २६ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख गुुरुङले बताईन् ।
महानगरले पूर्वाधार विकास अन्तर्गत बीपी मार्ग सडक स्तरोन्नतीका लागि ८ करोड, र विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि १ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
शिक्षातर्फ सामुदायिक विद्यालयहरुको व्यवस्थापन र शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन लागि ८४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । महानगरले महानगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खर्च वापत प्रति दिन १० रुपैयाँ थप्ने भएको छ ।
महानगरले संघ सरकारले प्रति दिन १५ रुपैयाँ दिने गरेकोमा त्यसमा १० रुपैयाँ थपिदिने भन्दै त्यसका लागि ४ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले महानगरवाट संचालित गण्डकी बहुप्राविधिक शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि १ करोड ६५ लाख बजेट विनियोजन गरेको उपप्रमुख गुरुङले बताईन् । त्यस्तै बालविकास केन्द्र सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीहरुका लागि तलब भत्ता अनुदान तर्फ ४ करोड ७० लाख विनियोजन गरिएको छ ।
महानगरले सामाजिक विकास तर्फ उपप्रमुखसंग महिला कार्यक्रममार्फत विपन्न, एकल एवम् लक्षित वर्गका महिलाहरुको उद्ययमशीलता विकासका लागि सञ्चालित चक्रीय कोषमा आधारित उपप्रमुखसँग महिला कार्यक्रमको निरन्तरताका लागि आगामी आर्थिक वर्ष थप १ करोड व्यवस्था विनियोजन गरिएको छ । शहरी गरिबी न्यूनिकरण कार्यक्रम अन्तर्गत लुमन्ती र महानगरपालिकाको साझेदारीमा विपन्न वर्गको आयआर्जन र आवास निर्माणका लागि १५ करोड विनियोजन गरिएको छ ।
महानगरले नसर्ने रोगहरुको बढ्दो समस्या न्यूनिकरण गर्न ४० वर्ष माथिका नगरवासीलाई कम्तिमा वर्षको एक पटक नसर्ने रोगको स्क्रिनिङ, परामर्श र उपचार सेवा निःशुल्क दिने भएको छ । भने दीर्घ रोगी, अपाङ्गता भएका व्यक्ति तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरघरमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउनका लागि बजेट विनियोजन गरिएको छ ।
आगामी वर्ष पोखरा महानगरले ५० लाखभन्दा बढीको योजनामा अनिवार्य प्रतिस्पर्धात्मक खरिद विधिबाट सञ्चालन गर्ने, बेरुजु फर्सौट नभएका उपभोक्ता समितिलाई नयाँ योजनाको समितिमा नराख्ने, योजनाहरूमा चैत मसान्तसम्म सम्झौता वा ठेक्का लगाएर जेठ मसान्तभित्र काम सक्नुपर्ने नीति लिएको छ । यस्तै, पुँजीगत तर्फको बजेट चालुमा रकमान्तर नगर्ने भएको छ ।
पोखरा महानगरपालिआर्थिक वर्षका लागिबजेट बक्तव्य २०८१-८२













