पोखरा महानगरको १५ औं नगरसभा

भ्रमण वर्ष घोषणा देखि लगानी बैठक आयोजनासम्म (पूर्णपाठ)

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्षको रुपमा मनाउने भएको छ । महानगरले पोखरा भ्रमण वर्षको रुपमा घोषणा गर्ने र त्यसलाई सफल बनाउन संघ, प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै पोखरामा पर्यटक आगमन संख्या कम्तीमा पन्ध्र लाख पु¥याउने पोखरा नीति लिएको छ ।

महानगरले नेपालमा आउने बाह्य पर्यटकहरू मध्ये कम्तीमापनि ६० प्रतिशत पोखरा आउने वातावरण बनाउने जनाएको छ । पोखरा महानगरपालिकाको १५ औं सभामा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगर पालिका प्रमुख धनराज आचार्यले पाश्र्वचित्र अर्थात टुरिजम प्रोडक्ट प्रोफाइल निर्माण गर्ने तथा त्यसको प्रवद्र्धन गर्ने उल्लेख गरेका छन् ।

नीति कार्यक्रममा पर्यटनको राजधानी पोखरामा पर्यटकीय पूर्वाधार निर्माणका लागि लगानी बैठक आयोजना गर्ने स्वदेशी तथा विदेशी लगानीकर्तालाई सम्भाव्य परियोजनाहरूमा लगानीका लागि प्रोत्साहित गर्न यस्तो बैठक गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । जसका लागि आवश्यक नीतिगत तथा प्रक्रियागत सुधार गरिनेपनि जनाइएको छ ।

पोखरा बसपार्क निर्माणलाई यस पटकको नीति तथा कार्यक्रममा समेटेको छ । साथै बिन्ध्यबासिनी बसपार्कको स्तरोन्नति गर्ने तथा पोखरा–३२ लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण कार्य अघि बढाउन समन्वय गर्नेपनि उल्लेख छ ।

व्यस्त शहरीक्षेत्रस्थित केआइ सिंङ पुल, महेन्द्रपुल जस्ता पुलहरूको वैकल्पिक पुल निर्माण सम्बन्धमा अध्ययन गर्ने भएको छ । महानगरले पोखरामा बहुतले पार्किङस्थल निर्माण प्रक्रिया अघि बढाउने, मेट्रो ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र बनाउने जनाएको छ ।

त्यस्तै, रानीपौवा शोभा भगवतीस्थान नजिक रहेको पोखराको पुरानो नगरपालिका कार्यालय भवनलाई पोखरा स्मृति सङ्ग्रहालयको रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरले सडकको क्षेत्राधिकार भित्र परेका वर्कसप, पेट्रोल पम्प जस्ता व्यवसाय तथा विपद् जोखिम संवेदनशील संरचनालाई हटाइ अन्यत्र स्थानान्तरण गर्ने नीति लिएको छ ।

हालको नयाबजारलगायतका क्षेत्रमा रहेका यी व्यवसायका कारण पोखरा कुरुप देखिएको तथा यसका कारण जोखिम निम्तिएको भन्दै आलोचना भएपछि महानगरले स्थानान्तरण गर्ने नीति लिएको हो ।

महानगरले यहाँको पर्यटन प्रवर्द्धनमा छुट्टै पहिचान बनाएका रोपाइ महोत्सव, स्ट्रिट फेस्टिभल, ड्रागन बोट रेस, क्रस कन्ट्रिरेस, ट्रायथलन, पोखरा म्याराथन, आहा १ रारा पोखरा गोल्डकप, राष्ट्रिय भलिबल खेल लगायत अन्य खेलकुद, फुड फेस्टिभल, हेमजा आलु महोत्सव, लेखनाथ महोत्सव, पोखरा महोत्सव, ढुंगेसाँघु मेला, प्याराग्लाइडिङ महोत्सवलगायतका कार्यक्रममा सहकार्य गर्ने जनाइएको छ ।

यसैगरी नीति कार्यक्रममा धार्मिक, सांस्कृतिक सम्पदायुक्त, शान्त, सुन्दर पोखरा उपत्यकालाई अध्यात्म केन्द्रका रुपमा विकास गर्ने उल्लेख छ । जसका लागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने जनाएको छ ।

पोखरा लेकसाईडस्थित कोमागाने पार्क, बसुन्धरा पार्क लगायतका सार्वजनिक पार्कहरूको सौन्दर्यीकरण गरी संरक्षण, विकास तथा प्रवर्द्धन गर्ने उल्लेख छ ।

उनले रत्नमन्दिर र सो परिसरलाई प्यालेस म्युजियमको रूपमा विकास गर्ने नीति सार्वजनिक गरे । पर्यटन राजधानीको समग्र विकासको लागि पूर्वाधार सुशासन कायम गर्दै पर्यटन पूर्वाधार विकासमा जोड दिइनेपनि महानगर प्रमुख धनराज आचार्यले बताए ।

उनले पृथ्वी राजमार्गको पोखरा प्रवेश विन्दु वडा नं ३२ कोत्रे मजुवामा वहुसुविधायुक्त इन्ट्रान्स पार्क निर्माण गरिने उनले उल्लेख गरे । सो पार्क सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार बनाइने उनको भनाई छ ।

महानगरले राजश्व प्रणालीलाई प्रविधि प्रयोग गरी सरल, सहज र विश्वसनीय बनाउँदै घरबाटै राजश्व दाखिला गर्न सकिने गरी अनलाइन सेवालाई प्रभावकारी बनाउने नीति लिएको छ । पूर्व राष्ट्रसेवकहरूको ज्ञान, सीप, दक्षता तथा अनुभवलाई महानगरपालिकाको समृद्धिमा उपयोग गर्न पूर्व राष्ट्रसेवक सम्मान तथा परिचालन नीति निर्माण गरी कार्यान्वयन गर्ने समेत जनाएको छ ।

महानगरपालिकाको नीति, योजना तथा प्राथमिकतामा परेका जनसरोकारका महत्त्वपूर्ण विषयहरूलाई तत्काल सम्बोधन गर्न तत्काल सुधार योजना निर्माण गरी कार्यान्वयन गर्ने महानगरपालिकाले जनाएको छ ।

महानगरले सार्वजनिक खर्च व्यवस्थापनलाई विधिसम्मत बनाउँदै बेरुजु सम्परीक्षणलाई प्राथमिकतामा राखी छुट्टै बेरुजु सम्परीक्षण कार्यदल गठन गरी परिचालन गर्ने नीतिमा उल्लेख गरेको छ । राजश्व परिचालनमा समेत योगदान पुग्ने गरी सम्पत्ति कर, मालपोत र भूमि करलाई व्यवस्थित गर्न जि आइस ट्रयाकिङ प्रणालीको विकास गरी कार्यान्वयन गर्ने र घर र कोठा बहालमा दिने तथा बहालमा लिन चाहनेलाई सहज हुने गरी छुट्टै वेभ प्रणाली विकास गरी बहाल करलाई महानगरपालिकाको करको दायरामा ल्याउने महानगरपालिकाले जनाएको छ ।

आयोजना बैङ्क व्यवस्थापन प्रणाली लागू गर्ने, विकास खर्चलाई रोजगारीसँग आबद्ध गर्ने, सार्वजनिक जग्गाको अभिलेखीकरण र संरक्षण गर्ने, विपद् व्यवस्थापनका लागि स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र र पूर्व सूचना प्राप्त हुने पूर्व चेतावनी प्रणाली सञ्चालन, विपद्मा खोज, उद्धार र राहतका लागि द्रुत प्रतिकार्य समूह गठन, विपद् व्यवस्थापन केन्द्र स्थापना तथा डिजिटल पोखराको अवधारणा अनुरूप एकीकृत सूचना तथा सेवाप्रबाह प्रणालीको विकास गरी कार्यान्वयन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

बार्षिक-नीति-तथा-कार्यक्रम-२०८१-८२-आषाढ-९

  • ९ असार २०८१, आईतवार २२:१४ प्रकाशित