यातायात मजदुरको स्वास्थ्य जाँचमा चरकको सहयोग, १८० जना लाभान्वित

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को सदस्य संस्था यातायात मजदुरहरूको छाता संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफ्नो ४५ औं स्थापना दिवस देशभर विविध कार्यक्रमका साथ मनाएको छ । संगठनको गण्डकी प्रदेश कमिटीले पनि विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ ।

शनिबार पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलको प्राविधिक सहयोगमा सुगर तथा ब्लड प्रेसर परीक्षण गरेको छ । १८० जनाले स्वास्थ्य जाँच गराएको अस्पतालका पब्लिक रिलेशन अफिसर सोवित सुवेदीले जानकारी दिए ।

यस्तै, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा चेकजाँच तथा नेपाल रेडक्रस सोसाइटी अन्तर्गत गण्डकी प्रादेशिक रक्त सञ्चार केन्द्रसंगको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको संगठनका गण्डकी प्रदेश अध्यक्ष विष्णु बहादुर खत्रीले जानकारी दिए । उक्त कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी जनक बहादुर शाहीको प्रमुख आतिथ्यता तथा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा संगठनका प्रतिनिधि परिषद उपप्रमुख कर्ण सिं गुरुङ, उपमहासचिव एवं गण्डकी प्रदेश इञ्चार्ज विष्णु बहादुर पराजुली, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी, पोखरेली ट्याक्सी सेवा प्रालिका सञ्चालक मदन सुनार, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका प्रदेश र जिल्ला अध्यक्ष लगायत संगठनमा आवद्ध मजदुरहरूको बाक्लो उपस्थिति रहेको थियो ।

  • ८ असार २०८१, शनिबार १९:१७ प्रकाशित