पोखरामा अस्तव्यस्त ट्राफिक व्यवस्थापन

व्यवस्थित बसपार्क छैन, चोक र सडक नै बसपार्क जस्ता

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिएपनि त्यसको पूर्वाधारको रुपमा रहेको बसपार्क निर्माण हुन नसक्दा यहाँ ट्राफिक व्यवस्थापन अस्तब्यस्त बनेको यातायात व्यवसायीले बताएका छन । यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा दिनहुँजसो नयाँ सवारी कम्पनीहरु दर्ता हुने र नेपालका विभिन्न शहरका लागि छुट्ने सवारी साधन बसपार्कको अभावमा सडकबाटै छुट्ने गरेका कारण ट्राफिक अस्तव्यस्त भएको व्यवसायीहरुको भनाइ छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको ट्राफिक व्यवस्थापन र राजमार्गमा हुने अवरोध हटाउने विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्ने अधिकांश यातायात व्यवसायीले पोखराको हरेक चोकलाइ नै यातायात व्यवसायीले बसपार्कको रुपमा प्रयोग भइरहेको समेत बताए । व्यवस्थित बसपार्क नहुदा पोखराका प्रत्येक चोकहरुलाई पोखराबाट बाहिरिने बसपार्कको रुपमा यातायात ब्यवसायीहरुले प्रयोग गरिरहकोे उनीहरुको भनाइ रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा वोल्दै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले पोखरा बसपार्कलाई व्यवस्थित बनाउने हो भने आफ्नो कम्पनीका सवारीसाधनहरु बसपार्कबाटै छुटाउन आफूहरु तयार रहेको वताए ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको पहलमा पोखरा महानगरले ५० लाख भन्दा बढी खर्च गरेर बसपार्कलाई व्यवस्थित गराउने काम भएपनि त्यसबेला सात महिना मात्र आफूहरुले बसपार्कबाट सवारीसाधन छुटाएको केसीले स्मरण गरे ।

सात महिना सञ्चालन गरे पश्चात बसपार्कमा धुलोका कारण यात्रुहरु जान नसकेको र अहिले वर्षाका कारण बसपार्क हिलाम्मे भएर मानिस हिड्न गाह्रो भएकाले यात्रुको सुविधालाई मध्येनजर गरेर आफूहरुले सडकबाटै सवारी साधन छुटाउनु बाध्यता रहेको उनको भनाइ थियो ।

सडकबाट सवारी छुटाउनु आफूहरुको रहर नभइ बाध्यता रहेको र बसपार्क निर्माणका लागी सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको समेत उनले बताए ।

पोखरेली ट्याक्सी सेवा प्रालिका संस्थापक अध्यक्ष प्रकाशमणी तिवारीले पोखराका हरेक चोकहरु बसपार्कको रुपमा रहेको धारणा राखे। पोखरामा व्यवस्थित बसपार्क नहुँदा यहाँबाट बाहिरिने सवारीसाधनहरुले कुनै न कुनै चोकलाई बसपार्कको रुपमा उपयोग गर्न बाध्य रहेको उनले सुनाए ।

सम्बन्धित निकायले पोखरा छिर्ने हरेक नाकामा जग्गा लिएर बाहिरबाट आउने जिप लगायतका सवारीसाधनलाई होल्ड गर्न सकेको खण्डमा पोखरा भित्रको ट्राफिक व्यस्तता कम हुने उनको भनाइ थियो ।

यातायात व्यवस्था कार्यालयले यातायात व्यवसायीलाई भाडा समायोजन बिना यातायात कानुनी कठघरामा ल्याउने काम गरेकाले आफूहरु झनै पीडित भएको वताउँदै उनले त्यसप्रति सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको वताए । पछिल्लो समय सरकार र पोखरा महानगरले समेत इलेक्ट्रिक सवारीसाधनलाई प्राथमिकता दिने गरी छलफलहरु चलिरहेको बताउँदै उनले त्यसका लागि हरेक ठाँउमा चार्जिङ स्टेशन निर्माण गर्न समेत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए ।

त्यस्तै पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले भारतिय सवारीसाधन भित्रिने क्रम बढ्दै जाँदा आफूहरुको सवारीसाधन विस्थापित भएर जाने होकी भन्ने चिन्ता व्यक्त गरे । उनले भारतिय सवारीसाधनसंगै विभिन्न अपराधिक घटनाहरु समेत बढ्दै गएको बताए । त्यसैगरी पछिल्लो समय विभिन्न गैरकानुनी एपका कारण दुईपाङ्ग्रे र निजी सवारी साधनले मानिसहरु बोक्ने गरेका कारण समेत आफूहरुको व्यवसाय धान्न मुस्किल रहेको भन्दै उनले त्यसलाई रोक्न आग्रह गरे ।

त्यस्तै ढुवानी व्यवसायीहरुले समेत ढुवानीका सवारीसाधनहरुलाई ट्राफिक प्रहरीले दिने हैरानीका बारेमा प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण गराएका थिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखराको ट्राफिक व्यवस्थापनमा यातायात व्यवसायीहरुसंग सहकार्य गरेर अगाडि वढ्ने प्रतिवद्धता जनाए । प्रमुख जिल्ला अधिकारी पाण्डेले पोखरा पर्यटकीय राजधानी भएका कारण पनि पोखरामा साँझको समयमा समेत सार्वजनिक यातायात सञ्चालनका लागी यातायात व्यवसायीलाई आग्रह गरे । पोखरा बसपार्क सञ्चालनको लागि स्टेक होल्डरहरुसंग छलफल गरि अगाडि बढ्ने समेत उनले प्रतिवद्धता जनाए ।

यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले सिण्डीकेट खारेज भएपछि यातायात व्यवस्था कार्यालयमा यातायात कम्पनीहरु दर्ता हुने क्रम बढेकै कारण पनि पोखरामा सवारी चाप वढेको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर खत्रीले सञ्चालन गरेको कार्यक्रममा पोखरामा कार्यालय रहेका दुई दर्जन यातायात व्यवसायी कम्पनी प्रालिका पदाधिकारीहरुको सहभागीता थियो ।

  • ७ असार २०८१, शुक्रबार १८:५१ प्रकाशित