पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको प्राइम सहकारी ठगी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।
प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा संलग्न रही फरार रहेका जिल्ला पर्वत मोदी गाउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १८ बस्ने वर्ष ५५ वर्षकी धन कुमारी गुरुङ, सोही ठाउँमा घर भई हाल पोखरा वडा नम्बर ८ बस्ने वर्ष ४७ वर्षकी सिता कुमारी गुरुङ र पोखरा महानगर वडा नम्बर ३ तेर्सापट्टी बस्ने वर्ष ४७ का जीवन सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले असार ६ गते हिजो बिहीबार पक्राउ गरी सजायको लागि जिल्ला अदालत कास्कीमा पेश गरेको छ ।
यसैबीच प्राइम सहकारी ठगीका मुख्य योजनाकार भनिएका व्यक्तिसहित ७ जना कारागार चलान भएका छन् ।
मुख्य योजनाकार भनिएका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापा सहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सहकारीको १ अर्व ५७ करोड रुपैयाँ अपचलन भएको आरोपमा ६५ जना प्रतिवादी किटान गरिएको हो । सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको छ । घिमिरे पोखराकै मित्रमिलन सहकारीको रकम हिनामिनाको आरोपमा थुनामै छन् ।
सहकारीका अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सुकुमबासी समितिका उत्तम मगरलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतले जनाएको छ ।
जिल्ला सहकारी वकिलको कार्यालयले प्रतिवादीलाई ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित आइतबार अदालतमा अभियोगपत्र दायर गरेको थियो ।