पोखरा ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आवद्ध यातायात मजदुरहरुलाई दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले कम्पनीमा आवद्ध सवारी साधनमा कार्यरत कर्मचारीहरुलाई मर्यादित र अनुशासित बनाइ सम्भावित दुर्घटनाहरुलाई न्युनिकरण गर्ने उद्देश्यले दुइ दिन सम्म दुर्घटना न्यूनिकरण प्रशिक्षण कार्यक्रम गरिएको हो ।
असार ५ र ६ गते आयोजित उक्त कार्यक्रमको समापन गर्दै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा।लि।का अध्यक्ष योगेन्द्र केसीले सवारी दुर्घटना विभिन्न कारणले हुने गरेको भएतापनि सुरुमा चालकलाइनै दोष दिने प्रचलन भएकाले चालकहरुले सवारी साधन चलाउँदा विशेष ध्यान दिन आवश्यक रहेको वताए ।
नेपालमा ९७ प्रतिशत मानिसहरुले सार्वजनिक यातायात प्रयोग गर्ने गरेको बताउँदै अध्यक्ष केसीले सार्वजनिक यातायातका चालक, सहचालकले यात्रुहरुको सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको औंल्याए ।
अध्यक्ष केसीले पछिल्लो समय तीव्र गतिमा सवारी चलाउने मादक पदार्थ सेवन गरी सवारी चलाउदा दुर्घटना निम्तिने भएकाले सवारी चलाउँदा आफु मात्र नभइ यात्रुहरुको बारेमा समेत सोच्न चालक र सहचालकलाई आग्रह समेत गरे ।
चालक र सहचालकको लागि कम्पनीको तर्फबाट गर्नुपर्ने कुनैपनि कसर बांकी नराख्ने बताउँदै अध्यक्ष केसीले आगामी साउन महिना देखी कम्पनीमा आवद्ध चालक र सहचालकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताए ।
उक्त कोषले सार्वजनिक सवारीमा कार्यरत मजदुरहरुको भविष्य सुनिश्चित बन्ने उनको भनाइ रहेको थियो । त्यसैगरी मजदुरका छोराछोरीलाई लक्षित गरी यो वर्ष ७५ जना मजदुरका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको वताए । कम्पनीमा आवद्ध यातायात मजदुरहरुलाई लक्षित गरी कम्पनीले सहकारी सञ्चालन गरेको समेत उनले वताए ।
सो अवसरमा बोल्दै अखिल नेपाल यातायात मजदुर संघ गण्डकीका अध्यक्ष सूर्य भक्त अधिकारीले पृथ्वी राजमार्गले यातायात मजदुरहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लागेकोमा कम्पनीलाई धन्यवाद व्यक्त गरे । उक्त कोषमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई समेत सहयोगका लागि आफुहरुले आग्रह सहित दबाब दिने उनको भनाइ रहेको थियो ।
त्यस्तै नेपाल यातायात मजदुर संघका अध्यक्ष किरण बावु पन्तले सार्वजनिक सवारी चालक र सहचालकलाई नेपाल प्रहरीले हेर्ने नजर फरक रहेको बताए ।
कोही कसैले लागुऔषध सवारी साधनम पठाएको खण्डमा पठाउने मानिसलाई भन्दापनि यातायात मजदुरलाई नै प्रहरीले पक्राउ गरी कारबाही गर्ने गरेको बताउँदै उनले नेपालमा भएका विभिन्न एयरलायन्स मार्फत हुने सुन तस्कर लागुऔषधका सामाग्री तस्करलाई मात्र नभइ त्यसमा संलग्न एयरलायन्स कम्पनीहरुलाई समेत कारबाही हुनुपर्ने उनको भनाइ रहेको थियो ।
दुई दिन सम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा जिल्ला न्यायधिवक्ता गोपाल प्रसाद ढकाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक राजु विष्टले सहजीकरण गरेका थिए भने उक्त प्रशिक्षणमा पाँच सय यातायात मजदुरहरुको सहभागीता रहेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का प्रवन्ध निर्देशक ज्ञान बहादुर केसीले जानकारी दिए ।













