गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

केन्द्रभाग मिडिया

गण्डकी ।

गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् ।

प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा छन् ।

प्रदेश सरकारको आगामी आव २०८१–०८२ को बजेटमा हिमाली र पहाडी क्षेत्रका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीसँग सहज पहुँच पुर्याउन नदी तथा खोलामा झोलुङ्गे पुल बनाउन विशेष जोड दिइने उल्लेख छ । निर्देशनालयका निमित्त निर्देशक महेन्द्र बानियाँले “स्थानीवासीको माग र आवश्यकता पहिचान गरेर झोलुङ्गे पुल निर्माण गर्ने गरिएको छ, झोलुङ्गे पुलले कृषिउपजलाई बजार ल्याउन पनि सहज भएको छ, गाउँका किसानको दैनिकी पनि फेरिएको छ”, भने ।

पोखरा महानगरपालिका–२५ हेम्जाका ६४ वर्षीय ऋषिराम पौडेलले आफूहरुका लागि याम्दी खोलामा हालै बनेको झोलुङ्गे पुल वरदान सावित भएको बताए । याम्दीपारिको टिमिरेचौरमा बाँझो पल्टिएको सयौँ रोपनी जग्गामा झोलुङ्ले पुल बनेपछि किसानले खेतीबाली लगाउन सुरु गरेको उनले सुनाए ।

  • ६ असार २०८१, बिहीबार १०:५८ प्रकाशित