पोखरा ।
डिभिजन वन कार्यालय कास्कीले विकास र वातावरणको सन्तुलनका सन्दर्भमा बुधबार विशेष समन्वय बैठक सम्पन्न गरेको छ ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला वन क्षेत्र समन्वय समिति कास्कीका संयोजक लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।
पौडेलले विकास र वातावरण क्षेत्रको उचित समन्वय विना सन्तुलित विकासको अवधारणा सम्भावना नहुने र सन्तुलित विकास विना दिगो विकासका लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताए ।
पौडेलले विकासका नाममा हुने हुने वन र वातावरण क्षेत्रको विनाशले गम्भीर समस्यातर्फ मानव सहित सम्पूर्ण जीवजन्तु उन्मुख हुनुपरेको तर्फ इङ्गित गर्दै संरक्षण मैत्री उपभोग नितिमा केन्द्रीत हुन पालिकाहरूलाइ आग्रह गरे ।
वातावरणीय प्रभाव मुल्यांकनलाई अनिवार्य कडाइका साथ लागू गरेर विकासका गतिविधि अगाडि बढाउनुपर्ने पौडेलको भनाइ थियो।
कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले विकास र वातावरणको बिचमा देखिएका असन्तुलित विकासका क्रियाकलाप न्यूनीकरण गर्न बैठक आयोजना गरिएको उल्लेख गरे।
कास्कीका डिभिजनल बन अधिकृत कोमलराज काफ्लेले वातावरण मैत्री सन्तुलित विकासका लागि स्थानीय तहको भुमिका विषयमा चर्चा गरेका थिए। मानवीय क्रियाकलाप का कारण हावापानी सहित इकोसिस्टम ,वायुमण्डलीय उष्णता बढ्न पुगि जैविक विविधतामा प्रतिकुल असर पारेको उल्लेख गर्दै पालिकाहरूको वातावरण संरक्षणका निम्ति चाल्नुपर्ने कदमको बारेमा प्रकाश पारेका थिए ।
सन २०४५ सम्म नेपालले कार्बनमुक्त देश निर्माणको नीति लिएको भन्दै त्यसको लागि स्थानीय पालिका र सरोकारवालाको भुमिका महत्वपूर्ण हुने बताए।
कार्यक्रममा जिसस कास्कीका उपप्रमुख सरिता माल ,डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरि प्रसाद गौतम ,कास्कीका विभिन्न पालिकाहरूका अध्यक्ष , जिल्ला समन्वय समिति कास्कीका सदस्यहरू सहित विकास वन र वातावरण क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो
कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन डिभिजन वन अधिकृत राजेन्द्र प्रसाद शर्माले गरेका थिए ।













