७२ जिल्लामा फैलियो डेंगु, गण्डकीमा १८७ जनामा संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिजोआज काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ ।

सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार हाल ७२ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लामा भने डेंगु भेटिएको छैन ।

बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कणालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौंमा १२२, झापामा १११, चितवनमा ७४, मकवानपुरमा ५८, तनहुँमा ४६ जनामा डेंगु संक्रमित भेटिएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

इडीसीडीका अधिकारीहरु अघिल्लो वर्षमा भन्दा अहिले डेंगु फैलिने क्रम तीब्र छ । अगस्ट, सेष्टेम्बर, अक्टोबर महिनामा संक्रमण बढी फैलिने गरेको छ । त्यसकारण यस वर्ष डेंगु फैलिने समय आउन बाँकी नै छ ।

अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।

  • ५ असार २०८१, बुधबार १६:१९ प्रकाशित