मध्यपहाडी लोकमार्गमा पहिरोले ट्रक पुरियो

केन्द्रभाग मिडिया

Photo : ekantipur

सिन्धुली ।

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रक पुरिएको छ । बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो ।

ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा,खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

यान्त्रिक कार्यालय मूलकोट र गोलन्जोर गाउँपालिकाको सहयोगमा एक्स्काभेटर मगाएर बुधबार बिहानदेखि नै पहिरो पन्छाउने काम भइरहेको प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिएका छन् ।

  • ५ असार २०८१, बुधबार ०९:४३ प्रकाशित