काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन् ।
पार्टी निकट अखिल नेपाल महिला (संघ समाजवादी) ले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरूको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक लगायतका दस्ताबेजहरू तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गरे । उनले पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रूपमा अगाडि सार्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले नै स्थापनाका बेलामा समाजवादी कार्यक्रमलाई अघि सारेको भन्दै आगामी महाधिवेशनले त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले पार्टीले महाधिवेशनका लागि तयार पारेका राजनीतिक, सांगठानिकलगायत दस्तावेजहरुको अध्ययन गरेर त्यसलाई अझ समृद्ध बनाउने काममा पनि सबैको भूमिकाको अपेक्षा गरिएको बताए ।