पोखरा ।
लैङ्गिक हिंसा व्यवस्थापन सल्लाहकार समिति कास्कीको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले लैगिक हिंसा प्रभावितहरूको लागि अल्पकालिन आवास गृह एवम प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ।
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको आमा चौरमा प्रदेश सरकारको लगानीमा भवन निर्माण सम्पन्न भए पनि केन्द्र सञ्चालनमा आउन नसकेको प्रती समितिको गम्भीर ध्यानाकर्षण भएको जिल्ला समन्वय समिती कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेलले जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेलले बताए।
प्रमुख पौडेलले आफ्नो कार्यकाल शुरु हुँदा देखि पटक पटक गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण गराउदा समेत सञ्चालनको प्रक्रिया अघि बढ्न नसकेको भन्दै विगतका दुई आर्थिक बर्षमा केन्द्र सञ्चालनका लागि भनेर विनियोजित रकम फ्रीज हुनु दुखद भएको उल्लेख गरे । विकासका काममा देखिएका विभिन्न मतभेदको अन्त्य गर्न तदारुकता देखाउन नसक्नु चरम लापरबाही भएको भन्दै राज्यको लगानी र सम्पति दुरुपयोग हुने काम तत्काल अन्त्य गर्न आग्रह गरे ।
त्यसै गरि बैठकले आगामी आर्थिक वर्षमा एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा लिएका सहित लैंगिक हिंसा प्रभावितहरूको लागि सबै स्थानीय तहले बजेट विनियोजन गर्ने, अल्पकालिन आवास एवम पुनर्स्थापना केन्द्र स्थापना गर्ने निर्णय गरिएको प्रमुख पौडेलले जानकारी दिए ।
बैठकले स्थानीय तहले हिंसा प्रभावितहरूको लागि स्वास्थ्य विमा कार्यक्रम सञ्चालन र सुचारू गर्ने ,स्थानीय तह र एकद्वार संकट व्यवस्थापन केन्द्र बिच समन्वय र सहकार्यलाइ थप बलियो बनाउने निर्णय गरेको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज वरालले बताए। माछापुच्छ्रे गाउँपालिकाका उप (प्रमुख सीता अधिकारीले लैगिक हिंसा व्यवस्थापनमा पालिकाले प्रतिवद्धताका साथ काम गरेको जानकारी दिदै थप मजबुत कार्यक्रम आउने वर्षमा समावेश गर्ने उल्लेख गरे ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उप प्रमुख सरिता माल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर भरत खत्री ,अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन सजना ढुंगाना,पालिकाका उप प्रमुखहरू सहितले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।













