सहकारी छानबिन विशेष समितिको बैठक बस्दैं : कार्यविधि पास गर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सहकारीको बचत रकम हिनामिना र अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक आज आइतबार बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्न लागेको समितिका सदस्य बद्री पाण्डेले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा समितिको कार्यविधिमाथि छलफल गरेर पास गर्ने तयारी छ । त्यसअघि कार्यदलका सदस्यहरूसँग समेत छलफल गर्ने तयारी भएको पाण्डेले जानकारी दिए ।

समितिले कार्यविधि पास गरेपछि समितिले आफ्नो काम विस्तृत रूपमा अगाडि बढाउने तयारी गरेको छ । समितिको सभापतिमा सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्य थापा रहेका छन् ।

सदस्यहरूमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेकी सरिता भुसाल, नेकपा माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान रहेका छन् ।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नै संलग्न भएको भन्दै नेपाली कांग्रेसले छानबिन समितिको माग गरेपछि गत जेठ १५ गते समिति गठन भएको थियो ।

  • २ असार २०८१, आईतवार १०:३४ प्रकाशित